काठमाडौं- स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री, मन्त्री, राष्ट्रपति, सांसदको तलब काटेर भए पनि इजरायलमा रहेका नागरिकको उद्धार गर्नुपर्ने बताएका छन्।
सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सिंहले सरकारले नागरिकको जिउधनको रक्षा गर्नुपर्ने बताए। ‘आफ्ना नागरिकको जिउधनको रक्षा गर्न नसक्ने सरकार केका लागि? बरु सरकारका प्रधानमन्त्री, मन्त्री, राष्ट्रपति, सांसदको तलब काटेर पनि चार्टर प्लेनमार्फत् नागरिकको उद्धार गरोस्। सरकारले त्यसमा तत्परता जनाओस्’, उनले भने।
सिंहले मुख्यमन्त्री र प्रदेश प्रमुखका लागि ठूलाठूला क्वार्टर बनाएर खर्च गर्ने सरकारले गरिब नागरिक या विद्यार्थीलाई उद्धार गर्न कुनै तदारुकता नदेखाएको आरोप लगाए। उनले विज्ञप्ति जारी गर्ने र फोन गरेर हालचाल बुझ्ने काम मात्रै भएको भन्दै असन्तुष्टि व्यक्त गरे।
‘हालचाल त मिडियाले पनि बुझ्छ। त्यो त मिडियाको काम हो। सरकारको काम त उद्धार गर्ने हो। त्यसकारण सरकार उद्धार गर्नेतिर अगाडि बढोस्। जताबाट जति खर्च लागे पनि राज्यको खर्चबाट उनीहरूको उद्धार होस्’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।