काठमाडौं– प्रतिनिधि सभाको बैठकमा इजरायलमा रहेका नेपालीहरुको तत्काल उद्धार गर्न माग भएको छ। प्रतिनिधि सभाको शून्य समयमा बोल्ने सांसदहरुले सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन्।
सांसदहरुले मृत्यु भएका नेपालीहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै अलपत्रहरुको तत्काल उद्धार गर्न माग गरे। सांसद अञ्जनी श्रेष्ठले शून्य समयमा बोल्दै १० जनाको मृत्यु भएकोले उनीहरुको परिवारलाई राहत उपलब्ध गराउन माग गरिन्।
त्यस्तै उनले कति घाइते भएका हुन् त्यसको तथ्यांक जानकारी गराउन र घाइतेहरुलाई उपचारका साथै अलपत्रहरुको तत्काल उद्धार गरियोस् भनी सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराइन्।
त्यस्तै सांसद अनिसा नेपालीले पनि सरकारसँग उद्धारको माग गरिन्। मृत्यु भएकोप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले हमास समूहलाई सरकारले आतंकारी घोषणा गरेर के गर्न खोजेको भनी प्रश्नसमेत गरिन्।
उनले इजरायलमा नेपालीहरु अलपत्र परेका तीन दिन भइसक्दा पनि सरकार मौन रहेको भन्दै आलोचना गरिन्। ’भारतले आफ्ना नागरिकको उद्धार गरिसक्यो। नेपाल सरकार के गरिरहेको छ?’, उनको प्रश्न थियो।
यस्तै सांसद अब्दुल खानलेले इजरायलमा मृत्यु भएकाहरुको परिवारलाई समवेदना व्यक्त गर्दै अलपत्र भएकाहरुको उद्धार र राहतको व्यवस्था गर्न सरकारसँग माग गरे।
त्यस्तै सांसद अमनलाल मोदीले बेपत्ताहरुको खोजी र अलपत्रहरुको कुटनीतिक पहल गरी उद्धार गर्न माग गरे। त्यस्तै अर्जुननरसिंह केसी नेपालीहरुको अवस्थाका साथै एकिन तथ्यांक संसद्मा जानकारी गराउन माग गरे।
‘सरकारले इजरायलमा मृत्यु भएकाहरुको तत्काल शव फिर्ता ल्याउने व्यवस्था गरोस्,’ उनले भने, ‘इजरायलमा भएका मानिसको तथ्यांक एकिन गरी नेपालीहरुको विवरण संसद्मा प्रस्तुत गर्न माग गर्दछु।’
त्यस्तै सांसद असिम शाहले देशभित्र पनि हमासको शासन रहेको आरोप लगाए। उनले नेपालमा बस्न नसकेर विदेश जान बाध्य भएको र कहिले अफगानिस्तानमा त कहिले इजरायलमा ज्यान गुमाउन परेको टिप्पणी गरे।
उनले तथ्यांक राखेर मात्र बस्ने काम सरकारले गर्न नमिल्ने भन्दै तत्काल उद्धार गर्ने पहल गर्न माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।