काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरालयलमा रहेका ४९ जना विद्यार्थीहरुको टिम लिडर (जो अहिले बङ्करमा छन्) विपिन सुवेदीसँग मेसेन्जरमार्फत् भिडियो संवाद गरेका छन्।
सो क्रममा प्रधानमन्त्रीलाई विदार्थीले आफूहरुलाई छिटोभन्दा छिटो नेपाल फर्काइदिन आग्रह गरेका छन्। सो क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल सरकार निरन्तर लागिरहेको बताएका छन्। ‘हामी रेगुलर लागिरहेका छौं। स्थिति अब विस्तारै एउटा ट्रयाकमा आइरहेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने।
जवाफमा विद्यार्थी सुवेदीले आफूहरुलाई छिटो उद्धार गर्न माग गर्दै भने,‘हामीलाई छिटोभन्दा छिटो नेपाल फर्काइदिनुहोस्।’
सोमबारै सुरक्षित स्थानमा सारिने प्रधानमन्त्रीको सचिलावयको दाबी
प्रधानमन्त्री प्रचण्डको सचिवालयले इजरायलको युद्ध क्षेत्रका विद्यार्थीहरूलाई सोमबारै सुरक्षित स्थानमा लगिने दाबी गरेको छ। प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले इजरायली पक्षसँग संवाद गरी सोमबार नै युद्ध क्षेत्रका विद्यार्थीहरुलाई सुरक्षित स्थानमा लगिन लागेको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत् दिएका छन्।
हमास समूह लुकिछिपी बसेको आशंका गरिएको क्षेत्रमा विद्यार्थी बाहिर निकाल्दा सुरक्षामा खतरा हुने भन्दै इजरायल पक्षले नमानेकोले बंकरको विद्यार्थीलाई निकाल्न केही ढिलाइ भएको मल्ले जनाएका छन्।
उनीहरुको उद्धारका लागि रातिदेखि सचिवालय सक्रिय भएर लागेको र उद्धारका लागि सबै पक्षसँग संवाद गरिरहेको जानकारी उनले दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।