बगदाद– इराकको दक्षिणी शहर बार्सामा मङ्गलबारदेखि भएका आक्रमणमा विद्रोहीले इरानी वाणिज्यदूताबासमा आगो लगाएको र विमानस्थलमा हवाइ आक्रमण भएसँगै सुरक्षाकर्मीले गरेका कारबाहीमा १२ जना विद्रोही मारिएका छन्।
उक्त तनाबपछि इराकी संसदको आकस्मिक तथा आपतकालीन बैठक बोलाइएको छ। इराकी प्रधानमन्त्री हैदर अल अवादीले उपलब्ध मन्त्रीहरूको बैठकमा घटनाका बारे जानकारी गराएका छन्। अवादीले उक्त हिंसालाई ‘राजनीतिक प्रतिशोधले गरिएको आक्रमण’ भन्दै यसविरुद्ध दृढ भएर अघि बढ्न आग्रह गरे।
विद्रोहीले तेहरान पक्षधर लडाकू तथा राजनीतिक दलका कार्यालय, सरकारी भवनहरू तथा इरानी वाणिज्यदूताबासमा मङ्गलबारदेखि आगजनी गरेपछि तनाब भएको सरकारी सुरक्षा स्रोतले जनाएको छ।
खानेपानीको अभावमा प्रदुशित पानी खाँदा बिरामी परेका करिब ३० हजार नागरिक अस्पताल भर्ना भएपछि आक्रोशमा सरकारी भवनमा आगजनी गर्न थालिएको आन्दोलित समूहले बताएको छ।
सुरक्षाकर्मीले आन्दोलनकारीविरुद्ध चलाएको कारबाहीमा १२ जना मारिएका र ५० जनाभन्दा बढी घाइते भएका गृहमन्त्रीले जनाएका छन्। इराकले आन्दोलन इरानको उक्साहटमा भएको जनाएको छ।

विदेश मन्त्रालयले वाणिज्यदूताबासमा भएको आक्रमणलाई अस्वीकार्य कदम भन्दै ‘यसले इराकको चासो तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई कमजोर आँकलन गर्न खोजेको’ जनाएको छ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता बहराम घसेमीले ‘असभ्य आक्रमण’ भनी इराकले गरेको आलोचनाको खण्डन गरे।
इराकका लागि इरानी राजदूत इराज मस्जेदीले वाणिज्यदूताबास पूर्णरूपमा ध्वस्त गरिएको बताउँदै यसमा अमेरिका, जियोनी तथा केही अरब मुलुकका ‘विदेशी दलाल’ले इरान–इराकको सम्बन्ध बिगार्ने प्रयासमा गरेको आक्रमण भनी आरोप लगाएको इरानी समाचार संस्था आइएलएनएले जनाएको छ।
बार्सामा गत जुलाईदेखि सुरु भएको विरोध कार्यक्रममा अहिलेसम्म २७ जनाको ज्यान गइसकेको छ।
‘हामी तीर्खाएका छौँ, भोकाएका छौँ, बिरामी परेका छौँ र राज्यद्वारा त्यागिएका छौँ, त्यसैले हाम्रो पवित्र कर्तव्यका लागि आन्दोलन सुरु गरेका छौँ र इमान्दार नागरिकले आन्दोलनमा सहभागिता जनाउने छन्,’ इरान निकट मानिने सिया समूहका अलि हुसैनले भने।
यसैबीच संसदमा प्रधानमन्त्री लगायत सरकारी अधिकारीबाट घटनाको विवरण सुनाइएको छ। आन्दोलनको कारक भनिएको प्रदुशित खानेपानी तथा विद्युत समस्याबारे छलफलसमेत भएको बताइएको छ।
बार्सा क्षेत्रमा चर्चित सिया धर्मगुरु मोक्तदा सादरको आग्रहमा संसदको आपतकालिन बैठक बोलाइएको हो। बार्साबाट निर्वाचित सांसदले जनताको जायज मागमा भएको लापबाही थप केही दिन रहे सङ्कटकालीन सरकारको निर्माण गरिने चेतावनी दिएका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।