काठमाडौं– काठमाडौं जिल्ला अदालतमा पारिवारिक अदालत सुरु भएको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज (सोमबार) काठमाडौं जिल्ला अदालतमा पारिवारिक अदालतको उद्घाटन गरेका हुन्।
आफूमाथिको संसदीय सुनुवाइका क्रममा प्रधानन्यायाधीश श्रेष्ठले फ्यामिली कोर्ट (पारिवारिक अदालत) वा इजलास स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। आफ्नो प्रतिबद्धता कार्यान्वयन गर्दै प्रधानन्यायाधीशले सोमबार काठमाडौं जिल्ला अदालतमा पारिवारिक उदालतको उद्घाटन गरेका हुन्।
पारिवारिक अदालतले महिला वादी भएका घरेलु हिंसाका मुद्दा, महिला र बालबालिका वादी भइ दर्ता भएका अंशसम्बन्धी मुद्दा, महिलाविरुद्ध भएका जबरजस्ती करणसम्बन्धी मुद्दाहरुको सुनुवाइ गर्ने छ।
प्रधानन्यायाधीश श्रेष्ठले पारिवारिक अदालतबाट सुनुवाइ हुने मुद्दाहरुमा लाग्ने अदालती शुल्क छुट हुने पनि घोषणा गरेका छन्। पहिलो चरणमा काठमाडौं जिल्ला अदालतमा सुरु गरिएको यो अभ्यास विस्तारै उपत्यका हुँदै देशभर विस्तार गर्ने लक्ष्य रहेको श्रेष्ठले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।