इस्लामावाद– चीन र पाकिस्तानका विदेशमन्त्रीबीच चीन–पाकिस्तान आर्थिक मार्ग (सीपिइसी)बारे छलफल भएको छ।
चीनका विदेशमन्त्री वाङ यी र उनका पाकिस्तानी समकक्षी शाह मेहमुद कुरेसीबीच राजधानी इस्लामावादमा सीपिइसी निर्माणबारे शनिबार आपसी वार्ता भएको पाकिस्तानले जनाएको छ। वार्तामा आर्थिक मार्गसँगै बेइजिङ र इस्लामावादबीचको आपसी चासोका विषयमा छलफल भएको हो।
तीन दिने भ्रमणका लागि पाकिस्तानमा रहेका चिनियाँ विदेशमन्त्री वाङले चीनले पाकिस्तानको विकासका लागि सहयोग गर्ने पूरानो अडान दोहोराउँदै चीनले पाकिस्तानसँग दुई देशबीचको व्यापक रणनीतिक सहकार्यका लागि सहमत भएको बताएको पाकिस्तानी समाचार संस्था जियो न्यूजले जनाएको छ।
पाकिस्तानका वैदेशिक कार्यालयका प्रवक्ता मुहम्मद फैसलले भने, ‘पाकिस्तानको सामाजिक, आर्थिक तथा विकास पूर्वाधारका कार्यक्रमप्रति चीनको दरिलो समर्थन रहने छ।’
चीन–पाकिस्तान आर्थिक करिडोर, आर्थिक सहकार्य, सांस्कृतिक तथा शैक्षिक आदानप्रदान गर्ने विषयमा छलफल केन्द्रित भएको फैसलले सञ्चारकर्मीलाई जानकारी गराए।
भ्रमणका क्रममा वाङले नवनियुक्त पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई चीनमा हुने अन्तर्राष्ट्रिय बजारबाट आयात गरिएका सामानहरूको प्रदर्शनीमा सहभागीताका लागि आमन्त्रण गरेका पाकिस्तानी पक्षले जनाएको छ।
वाङले पाकिस्तानमा रहँदा राष्ट्रपति, प्रधानमन्त्री, पाकिस्तानी संसदका सभामुख तथा सैनिक प्रमुखलाई भेट्ने कार्यक्रम रहेको बताइएको छ।
पाकिस्तानमा नयाँ सरकार गठन भएपछि चिनियाँ उच्च पदस्थ अधिकारीसहितको यो पहिलो भ्रमण दल हो। रासस/एएनआई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।