काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को विशेष बैठक बोलाएका छन्। इजरायलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, राहत लगायतका विषयमा छलफल गरी निर्णयमा पुग्न मन्त्रिपरिषद्को बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
सोमबार अपराह्न ४ बजे सिंहदरबारमा बोलाइएको बैठकमा इजरायलमा विकसित पछिल्लो परिस्थिति, त्यहाँ रहेका नेपालीहरूको अवस्था, नेपाली नागरिकलाई स्वदेश फिर्तिका लागि सरकारले चाल्नुपर्ने कूटनीतिक पहल, प्राविधिक व्यवस्थापन लगायतका विषयमा छलफल हुने बताइएको छ।
मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्रीले बेलुका ५ बजे सिंहदरबारमा नै सर्वदलीय बैठक समेत बोलाएका छन्। बैठकमा इजरायलमा विकसित परिस्थिति र नेपाली नागरिकहरूको सुरक्षा र हितसम्बन्धी विषयमा छलफल हुनेछ।
नेपाली समयानुसार शनिबार बिहान प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणमा परेर १० जना नेपालीले ज्यान गुमाएका छन्।
इजरायलमा ज्यान गुमाएका नेपालीको शव स्वदेश ल्याउने प्रक्रिया सुरु गरिसकेको सरकारले जनाएको छ। यस्तै, इजरायलबाट स्वदेश फर्किन चाहने नेपाली नागरिकहरूलाई फिर्ता ल्याउने प्रयोजनका निम्ति लगत संकलन र द्रूत सूचना संयन्त्रसमेत खडा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।