काठमाडौं– इजरायलमा जारी द्वन्द्वमा फसेका नेपाली नागरिकहरुको उद्दारका विषयमा छलफल गर्न परराष्ट्र मन्त्रालयमा संयन्त्रको बैठक सुरु भएको छ। परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयका अनुसार संयन्त्रको बैठकले द्वन्द्वग्रस्त स्थानवाट नेपालीको उद्धारबारे निर्णय लिने छ।
परराष्ट्रमन्त्री साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठक परराष्ट्र मन्त्रालयमा बसिरहेको हो। सरकारले आइतबार मन्त्री साउदको संयोजकत्वमा संयन्त्र गठन गरेको थियो।
संयन्त्रले निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्याङ्कन गरेर नेपाली नागरिकको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्यसमेत गर्नका लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्ने लगायतका सम्पूर्ण काम गर्ने जिम्मेवारी पाएको छ।
प्यालेस्टिनी लडाकु समूहले इजरायलमा आक्रमण गर्दा इजरायलमा रहेका १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका छन्। कृषि संकायको अध्ययनअन्तर्गत ‘सिक्दै कमाउँदै’ भन्ने प्रयोगात्मक कार्यक्रमअन्तर्गत इजरायल पुगेका विद्यार्थीहरु आक्रमणमा परेका हुन्। केही नेपालीहरु उद्धारको पर्खाइमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।