काठमाडौं- नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओली गत निर्वाचनमा एमालेलाई घेराबन्दी गरिएको तथा नेकपाकालमा आफूलाई साधारण सदस्यबाट पनि निकालिएको चर्चा गर्दै थिए।
‘त्यस्तो हमलाका बीच पार्टी सिध्याउँछौं भनेर लागेका बेलामा, पार्टीको अध्यक्षलाई साधारण सदस्यबाट पनि निकाल्यौं भन्ने कस्तो…’, उनी बोल्दै थिए। त्यति नै बेला उनको सम्बोधन सुनिरहेका कार्यकर्ता पंक्तिमा होहल्ला सुरु भयो। एक व्यक्तिले बोले- ‘भीम रावल खै?’
कार्यक्रमको प्रत्यक्ष प्रशारणमा ती व्यक्तिभन्दा अघि बोलेका र पछि बोल्नेहरूले पनि भीम रावल खोजेको जस्तो सुनिन्थ्यो। तर आवाज प्रष्ट सुनिएन।
ओलीले जवाफ फर्काए- ‘चुप लागेर बसौं त साथीहरू।’
त्यसपछि भने हल्ला शान्त भयो। ओलीले आफूलाई अध्यक्षबाट निकालिएको प्रसंगको पुनः चर्चा गर्दै अगाडि बढे।
सुदूरपश्चिम प्रदेश क्षेत्रमा नेकपा एमालेमा रावल प्रभावशाली नेता मानिन्छन्। तर प्रदेश अधिवेशनमा उनलाई बोलाइएको थिएन। एमालेको नेतृत्व तहले रावललाई नरुचाए पनि कार्यकर्ता भने उनको पक्षमा उभिने गरेका छन्।
ओली बोलिरहँदा रावलको खोजी भएको यो पहिलो पटक होइन। गत कात्तिक २७ गते दैलेखमा आयोजित आमसभामा ओलीले बोलिरहँदा दर्शकदिर्घाबाट रावलको नाम आएको थियो। त्यसपछि ओली आक्रोशित भएका थिए। उनले जवाफ फर्काएका थिए, ‘चुप लागेर बस्नुस्। भीम रावलको माया लागेको भए अछाम त्यहीँ पारिपट्टि छ, जानुस्।’
त्यसअघि कात्तिक १८ गते ओलीले कञ्चनपुरको सभामा सम्बोधन गर्दा पनि रावलको माग भएपछि उनले रिसाउँदै जवाफ फर्काएका थिए। केही आक्रोशित जस्तो सुनिएर मञ्चबाट प्रतिवादमा उत्रिएका थिए– ‘भीम रावलको तपाईंलाई किन चिन्ता पर्यो? ०४८ सालदेखि एकछिन् मुख खाली छैन। बुढो भइसक्नुभयो। बेकार किन भीम रावलको चिन्ता, अरुलाई पालो दिनुपर्दैन? एउटै भीम रावल, भीम रावल। केको खेती गरिराख्या? के भीम रावल? थुप्रो रावलहरू हुनुहुन्छ सुदूरपश्चिममा। थुप्रो रावलहरूलाई अगाडि बढाइन्छ।’
त्यतिबेला रावलले चुनावी टिकट नपाएपछि एमालेको एउटा पंक्तिले ओलीप्रति असन्तुष्टि व्यक्त गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।