काठमाडौं– नेकपा(एमाले)का सांसद गोर्कण विष्टले सरकारले संसद्मा प्रस्तुत गरेको विद्युत् विधेयक कतैबाट प्रेरित भएर ड्राफ्ट भएको आशंका व्यक्त गरेका छन्।
आइतबार प्रतिनिधि सभा बैठकमा विद्युत् विधेयक २०८० माथिको छलफलमा भाग लिँदै उनले विधेयक कहिँबाट प्रेरित भएर ड्राफ्ट भएको आशंका व्यक्त गरेका हुन्।
विधेयकले नेपालको राष्ट्रिय हितलाई आँखा चिम्लिएको आरोप लगाउँदै उनले कुनै समयमा गरिएको सम्झौता र शर्तहरुलाई प्राथमिकतामा राखेर ड्राफ्ट गरिएको बताए।
उनले भने, ‘एकातिर प्रतिस्पर्धाको कुरा गरिएको छ तर अर्कोतिर फेरि पनि सोझै सम्झौतामार्फत् ५ मेघावाट विद्युत्सम्म पनि दिन सकिने गरी प्रावधान राखिएको छ। यसले कुनै न कुनै हिसावले प्रतिस्पर्धालाई हतोत्साही गर्ने सम्भावना देखाएको छ।’
उनले २०६५ सालमा पर्याप्त प्रावधानहरुसहित प्रस्तुत गरिएको विधेयकका महत्त्वपूर्ण विषयहरुलाई नै बेवास्ता गरेर अहिलेको विधेयक आएको बताए।
उनले भने, ‘यो विधेयकमा २०६५ सालमा पनि पर्याप्त प्रावधानहरु सहित संसद्मा विधेयक प्रस्तुत गरिएको थियो। त्यसपछि पनि विभिन्न महत्वपूर्ण विषयहरुलाई समेटेर संसद्मा प्रस्तुत गरिएको थियो। ति यावत् विषयहरुलाई यो ऐनले आँखा चिम्लेको छ वा बेवास्ता गरेको छ। अहिले कुनै न कुनै हिसावले यो विधेयक कहिँबाट अलि ज्यादा प्रेरित बन्न पुग्यो कि? वा हाम्रो राष्ट्रिय हितलाई यसले आँखा चिम्लिन पुग्यो कि? वा कुनै समयमा गरिएको सम्झौता र शर्तलाई प्राथमिकतामा राखेर यो ड्राफ्ट आयो कि भन्ने मेरो आशंका छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।