काठमाडौं– जनमत पार्टीका सांसद अब्दुल खानले वैदेशिक रोजगारीका लागि मलेसिया जाँदा बायोमेट्रिक गर्नुपर्ने व्यवस्था हटाउन माग गरेका छन्।
आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खानले अरु देशमा जाँदा बायोमेट्रिक नचाहिने भए पनि ‘मलेसिया जाँदा किन बायोमेट्रिक चाहिएको हो?’ त्यसको जवाफ सरकारले दिनुपर्ने बताए।
उनले भने, ‘अन्य देशमा जाँदाखेरी बायोमेट्रिक नचाहिने, तर मलेशिया जाँदाखेरी बायोमेट्रिक किन चाहिने? म यो प्रश्न श्रममन्त्रीजीलाई गम्भिरतापूर्वक राख्न चाहन्छु। किनभने एकजना व्यक्तिले बायोमेट्रिक गर्दाखेरी कम्तिमा ९ हजार ८०० खर्च गर्नुपर्ने हुन्छ। यो किन चाहियो? म स्पष्ट जवाफ माग गर्न चाहन्छु।’
यस्तै उनले शून्य लागतमा विदेश पठाउने कुरामा पनि नियमन हुनुपर्ने उनको भनाइ छ। ‘अहिले शुन्य लागतको नाममा विदेश पठाइन्छ, तर कारणबश त्यहाँबाट फर्किने भयो भने उजुरी गर्दा क्षतिपूर्ति पाइँदैन। पहिला ८० हजार पाउँथे। शून्य लागतको कुरालाई एकदम स्पष्ट रुपमा कुन कम्पनीले, कसरी अन्तर्वाता लिने, अन्तर्वातामा को–को बस्ने? र कसरी पास गर्ने यो नियमन गर्नुपर्छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।