काठमाडौं– सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले हत्या प्रकरणमा संलग्न रिगल भनिने योगराज ढकाललाई आममाफी दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।
व्यक्ति हत्याजस्तो अपराध कर्ममा संलग्न ढकाललाई आममाफी दिने सरकारको निर्णयले धेरै नेपाली जनताको मन रोएको उनको भनाइ थियो।
आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उपाध्यक्ष पाण्डेले महंगी नियन्त्रण, विकास खर्च, मुलुकको अर्थतन्त्र चलायमान बनाउने काममा पनि सरकारले ध्यान दिन नसकेको गुनासो गरे।
उनले सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकले पनि शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्न नसक्ने बताए।
उपाध्यक्ष पाण्डेले भने, ‘संघीयतालाई कमजोर बनाउने गतिविधिहरु अहिले पनि केही भइराखेका छन। यो व्यवस्थालाई बदनाम गराउने खालको अपराधिक गतिविधिमा संलग्न व्यक्ति जो जेलको सजाय पाइराखेका थिए। त्यस्ता व्यक्तिलाई आममाफी दिएर धेरै जनता रुवाउने काम हामीले गरिरहेका छौं। अर्थतन्त्रलाई चलायमान बनाउन ध्यान दिइरहेका छैनौं। विकास खर्च सयममै जति हुनुपर्ने हो, त्यो काम गर्न सकिरहेका छैनौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।