काठमाडौं– आयोजक बंगलादेशलाई २–० गोलले पराजित गर्दै नेपाल साफ सुजुकी कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
शनिबार भएको निर्णायक खेलमा नेपाललाई अन्तिम चारमा पुग्न जित निकाल्नै पर्ने बाध्यता थियो। यस्तो अवस्थामा आयोजक बंगलादेशमाथि सानदार जित निकाल्दै नेपाल समूह विजेता बनेर अन्तिम चारमा पुगेको हो।
शनिबार बंगलादेशको बंगबन्धु राष्ट्रिय रंगशालामा भएको समूह 'ए' को खेलमा विमल घर्तीमगरले ३३ मिनेटमा गोल गरेर नेपाललाई अग्रता दिलाएका थिए। विमलले डिबक्स बाहिरबाट हानेको फ्रिकिकले सिधै गोलपोस्टको दिशा लिएको थियो। विमलको प्रहारलाई रोक्ने क्रममा बंगलादेशका गोलकिपर अलमलिएका थिए।
नेपालका लागि दोस्रो गोल नवयुग श्रेष्ठले ९० मिनेटमा गरे। उनले विशाल राईले दिएको सटिक पासलाई चुस्ट फिनिसिङ गरेका थिए। दुवै खेलाडी सब्सिच्युट खेलाडीको रुपमा मैदान छिरेका थिए। विशाल ८३ मिनेटमा विमल घर्तीमगरको स्थानमा मैदान छिरेका थिए। नवयुग ६७ मिनेटमा भरत खवासको स्थानमा मैदान प्रवेश गरेका थिए।
यसअघि नेपालले दोस्रो खेलमा भुटानलाई ४–० गोलले पराजित गरेको थियो। पहिलो खेलमा भने नेपाललाई पाकिस्तानले २–१ गोलले हराएको थियो।

शनिबार नै भएको समूह 'ए' को अर्को खेलमा पाकिस्तानले भुटानलाई ३–० गोलले हराएको छ। योसँगै समूह 'ए' को खेल सकिएका छन्। नेपाल, पाकिस्तान र बंगालदेशले समान २–२ खेलमा जित र १–१ खेलमा हार बेहोर्दै ६–६ अंक जोडे। तर गोलअन्तरमा पछि पार्दा आयोजक बंगलादेश समूह चरणबाटै बाहिरिन बाध्य भयो। यता भुटान भने तीन वटै खेलमा पराजित भयो।
अब नेपालले भारत, माल्दिभ्स र श्रीलंका मध्ये एक टिमसँग सेमिफाइनलमा बुधबार प्रतिस्पर्धा गर्नेछ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।