काठमाडौं– नेकपा एमालेका सांसद पदम गिरीले इजरायलमा भएका नेपालीहरुलाई तत्काल उद्धार गर्न माग गरेका छन्।
आइतबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद गिरीले इजरायलमा भएको घटनामा केही नेपालीहरु हराइरहेको, केही हताहत भएको र केही नर्सिङ घरमा लुकेर बस्नु परेको बताए।
उनले भने,‘सरकारलाई म आग्रह गर्न चाहन्छु। नेपाली दाजुभाई तथा दिदिबहीनीहरु विभिन्न काम र उद्देश्यले विदेशमा हुनुहुन्छ। आज त्यहाँ निकै ठूलो विपत्ति आइलागेको छ। वास्तवमा भन्ने हो भने उद्धारका निम्ती र उहाँको जीवन रक्षाको निम्ती ढिलाई गर्ने अवस्था छैन,’ उनले भने, ‘यो देशमा सरकार छ। मुलकमा राज्य छ। ती नागरिहरुको अभिभावक यो राज्य हो भने, यसमा सरकारले अत्यन्तै आफ्नो प्रभावकारी कदम उठाउनुपर्छ।’
सरकारले एउटा विज्ञप्ति मात्रै जारी गरेर नपुग्ने बताउँदै उनले भने, ‘मन्त्रीले सदनमा आएर घटनाको विवरण मात्रै दिएर हुँदैन। प्रधानमन्त्रीले त्यहाँका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई फोन गर्नुपर्यो। संवाद गर्नुर्यो। हाम्रा नागरिकहरुको उद्धार हुनुपर्यो। उपचार हुनुपर्यो।’
उनले संयुक्त राष्ट्रसंघको बैठक चलिरहेकाले नेपालका प्रतिनिधिहरुले त्यहाँसमेत आवाज उठाउनुपर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।