काठमाडौं– झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा सर्प पालन गर्ने नाममा भ्रष्टाचार भएको पाइएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्प पालनका नाममा १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
उक्त प्रतिष्ठानमा एन्टी भेनम प्रोडक्सन एन्ड रिसर्च सेन्टर स्थापना गरी सञ्चालन गर्ने भनि अनियमितता भएको पाइएको अख्तियारले जनाएको छ।
अख्तियारले मधेस प्रदेश (तत्कालीन प्रदेश २)का तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार र लालबन्दीका तत्कालीन मेयर मानबहादुर खड्कासहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको हो।
अख्तियारले मधेस प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन सचिव प्रेम कुमार श्रेष्ठ, तत्कालीन झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा हाल राष्ट्रिय स्वास्थ्य विज्ञान तथा अनुसन्धान परिषद्का सञ्चालक समितिका पदाधिकारीहरु अध्यक्ष रेवती प्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र रायविरुद्ध मुद्दा दायर गरेको हो।
तत्कालीन मन्त्री विजय कुमारले प्रदेश सरकारको आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा समावेश गराइ उक्त प्रतिष्ठानका लागि बजेट समेत विनियोजन गरेका थिए।
संघीय सरकारबाट समेत प्राप्त समपूरक अनुदान रकम सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका निमित्त भौतिक संरचना निर्माणका लागि भन्दै खर्च गरिएको थियो।
लागत साझेदारी सून्य रहेको झलनाथ खनाल स्वास्थ विज्ञान प्रतिष्ठान नेपाललाई सर्प पालनका नाममा १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ निकासा दिएको पाइएको अख्तियारले जनाएको छ। अख्तियारले १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ बिगो कायम गर्दै बिगोअनुसार जरिवाना र सजायको मागदाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।