काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बलियो सुरक्षा अंग र प्रभावकारी सुरक्षा बिना देशमा विकास र समृद्धिको वातावरण एवं मनोविज्ञान निर्माण गर्न सम्भव नहुने बताएका छन्।
आइतबार राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानको सि.सं. १५ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा निर्देशनात्मक सम्बोधन गर्दै उनले एउटा बलियो र सार्वभौम राज्यका लागि भूगोल, जनता, राज्यको अग्रगामी चरित्र, जनउत्तरदायी राज्ययन्त्र, स्वाधीन अर्थतन्त्र, बलियो सरकार लगायतका आधारभूत पक्षहरू आवश्यक पर्ने बताए। यसको बलमा मात्रै विकास र समृद्धिको राष्ट्रिय आकांक्षा परिपूर्ति गर्दै अग्रगामी दिशामा अगाडि बढ्न सम्भव हुने उनको भनाइ छ।
संगठनले नियमित कार्यसम्पादनका साथै विकसित नयाँ चुनौतीहरूतर्फ ध्यान केन्द्रित गर्नुपर्ने प्रधानमन्त्री प्रचण्डले सुझाव दिए।
‘बदलिएको परिवेश, जनसंख्या विकासको चरित्र, शहरीकरण, विश्वव्यापीकरण, भूराजनीतिक सम्बन्ध र नवीनतम् सूचना प्रविधिको गुणात्मक विकासले सुरक्षा क्षेत्रमा समेत नयाँ सोच, नीति, कार्ययोजना र कार्यशैलीको माग गर्दछ,’ उनले भने, ‘तसर्थ, प्रतिष्ठानले अहिलेदेखि नै विशेष अध्ययन र चासो लिएर सम्भावित चुनौतीहरूको पूर्वानुमान गरी सोहीअनुरूपको रणनीति तय गर्नुका साथै प्रशिक्षार्थीहरूलाई प्रशिक्षित र परिचालित गर्न गम्भीर ध्यान दिने मैले विश्वास लिएको छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।