काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले आफ्नो दल र एमालेबीच फेरि पार्टी एकता वा कुनै प्रकारको सहकार्य हुन सक्ने बताएका छन्।
राजधानीमा शनिबार आयोजित माओवादी जनयुद्धका सहिद तथा बेपत्ता परिवार र आस्थाका बन्दीहरुको सम्मान कार्यक्रममा बोल्दै पुनले विगतको जरा एउटै भएको र कयौं रानजीतिक अजेण्डामा समानता भएका दुई पार्टी कुनै पनि बेला मिल्न सक्ने बताएका हुन्।
उनले फेरि मिल्नुपर्ने अवस्था आउन सक्ने भएकाले धेरै टाढा पुगेर माओवादी आन्दोलनको योगदानलाई अवमूल्यन नगर्न एमाले अध्यक्ष केपी ओलीलाई आग्रह गरे।
‘हिजो हामीले नेकपा बनायौं। यद्यपि टिकाउन सकिएन, इतिहासले त्यसको समीक्षा गर्दै गर्ला। फेरि पनि कम्युनिष्ट पार्टीहरु मिलेर फेरि पनि ढिलो चाँडो संयुक्त मोर्चा, पार्टी एकता, गठबन्ध या संयुक्त सरकार कुनै पनि रुपमा जाने सम्भावना छ,’ पुनले भने, ‘म कमरेड केपी ओली र एमालेका नेताहरुलाई भन्न चाहन्छु धेरै पर गएर आन्दोलनको अपमान नगर्नुस्। हामी त्यसलाई अस्वीकार गर्दछौं।’
पुनले दुई जना जनताका छोराछोरीलाई राष्ट्रपति र ओली स्वयंलाई दुईपटक सम्म प्रधानमन्त्री बनाएको नबिर्सन आग्रह गरे। पुनले तत्कालीन नेकपाको राजनीतिक प्रतिवेदनमा आफूहरुले तत्कालीन मालेले झापा आन्दोलन हुँदै एमालेमा भएको रुपान्तरण, शान्तिपूर्ण संघर्ष र संसदीय अभ्यासका क्रममा हासिल गरेका शिक्षा तथा अनुभवको स्वामित्व आफूहरुले लिएको र माओवादी जनयुद्धको स्वामित्व तत्कालीन एमालेले लिएको तथ्य जगजाहेर रहेको स्मरण गराए।
पुनले कांग्रेसले २००७ साल, २०१८ साल, २०२५/०२६ सालमा गरी तीनपटक र तत्कालीन माले (हालको एमाले) को नेतृत्वमा ०२८ सालमा र तत्कालीन नेकपा माओवादीको नेतृत्वमा ०५२ सालमा हतियार उठेको इतिहास नबिर्सन सचेत गराए। ती सबै हतियार निरंकुश राजतन्त्रको अन्त्य र राज्यको लोकतान्त्रिकरणका लागि भएको स्वीकार गर्न आफूहरुलाई कुनै अप्ठेरो नरहेको बताए।
नेपालका मुलधारका प्रमुख तीन दलले कहिले सशस्त्र संघर्ष र कहिले शान्तिपूर्ण संघर्षको माध्यम प्रयोग गरेको भन्दै उनले ०७५ वर्ष लामो संघर्षको प्रतिफल अहिलेको राजनीतिक उपलब्धि भएको उल्लेख गरे।
‘हामी सामन्तवाद र राजतन्त्रको अन्त्यका लागि कांग्रेसले र तत्कालीन मालेले हतियार उठाउनु ठीक थियो भन्न सक्छौं’, पुनले भने, ‘जनयुद्धले उठाएका मुद्दाहरु र परिवर्तनलाई साझा सम्पत्ति हो भनेर नेकपाको दस्तावेजमा स्वीकार गर्ने ओलीजी र एमालेका नेताहरुलाई सबै आन्दोलनहरुको सम्मान गर्न आग्रह गर्न चाहन्छु। तीनवटै ठूला दलले कहिले सशस्त्र र कहिले शान्तिपूर्ण संघर्षको माध्यम प्रयोग गरेका छौं। परिवर्तनका जस सबै लिने, त्यसको लाभ पनि लिने र समाज रुपान्तरणका लागि महत्वपूर्ण योगदान गरेका आन्दोलनहरुको अपमान कसैले पनि गर्नुहुँदैन।’
धनी र गरिब, गाउँ र सहर, एक जात र अर्को जात, एक धर्म र अर्को धर्म, रोजगार र बेरोजगार, महिला र पुरुष, दलित र गैरदलितबीच विभेद हुन नहुनेमा माओवादी केन्द्र र एमाले एकै ठाउँ रहेको उनले चर्चा गरे। यस्तै माध्यामिक शिक्षा निःशुल्क हुनुपर्ने, सबै नागरिकको स्वास्थ्य, शिक्षा, रोजगारी, गाँस, बास र कपासमा समान पहुँच हुनुपर्नेमा पनि दुई पार्टीबीच सैद्धान्तिक विभेद नरहेको बताए।
‘जब यी सबै कुरामा हामी समान विचार राख्छौं भने मिलेर जान किन सक्दैनौं?,’ पुनले भने, ‘म ओलीजी र नेताहरुलाई दूरी बढाउने काम नगर्न आग्रह गर्न चाहन्छु।’ उनले २००६ सालमा चार संस्थापक मिलेर स्थापना गरेको कम्युनिष्ट पार्टी नै फरक–फरक धारमा विभक्त भएकाले मुलुकको हितमा मिलेर काम गर्न समस्या हुनुपर्ने कारण नहरेको बताए।
पुनले कांग्रेसले २०१५, २०४८ र २०६५ सालमा बहुमत ल्याएको र कम्युनिष्टहरु २०६४ र २०७० को संविधानसभा र २०७४ को आमनिर्वाचनमा बहुमतमा रहेकामा अहिले किन जनमत घटिरहेको छ भन्नेबारे सबैले सोच्नुपर्ने बेला आएको बताए। ‘२०६४ र २०७० को संविधानसभामा कम्युनिष्टहरु बहुमतमा थियौं। २०७४ मा नेकपाको झण्डै दुई तिहाई उपस्थिति थियो। १६ वर्षपछि अहिले पहिलोपटक संसद्मा कम्युनिष्टहरुसँग बहुमत छैन। एमाले, माओवादी, समाजवादी, नेककिपा र राजमो मिलाउँदा पनि कम्युनिष्टहरुको बुहमत पुग्दैन’, पुनले भने, ‘यो गम्भीर पाटोको समीक्षा गर्नुपपर्ने बेलामा अर्को कम्युनिष्ट शक्ति र उसको नेतृत्वमा भएको सफल आन्दोलनको अपमान नगर्न म ओलीजीलाई आग्रह गर्छु।’
शान्ति प्रक्रियाका बाँकी काम र संविधान रक्षासहित केही साझा एजेण्डामा कांग्रेससँग आफूहरुले सरकारमा सहकार्य गरिरहेको भए पनि एमालेसहित प्रतिपक्षी दलहरुलाई निषेध गर्नुपर्छ भन्नेमा आफ्नो दल नरहेको उनले स्पष्टोक्ति थियो। मुलुकको परराष्ट्र नीति, विकास नीति, सामाजिक रुपान्तरण, विकास र सुशासनका अजेण्डामा सबै दलबीच सहकार्य हुनुपर्नेमा पुनले जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।