काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएका छन्। शनिबार प्रदेश सभामा सम्बोधन गर्दै उनले राजीनामा दिएका छन्।
उनले विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गर्ने क्रममा राजीनामाको घोषणा गरेका हुन्। उनले भने, ‘मैले विश्वासको मत लिनुअघि प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको पदबाट राजीनामा दिने निर्णय गरेको छु। त्यही निर्णय तपाईंहरू समक्ष सुनाउन उभिएको छु।’
सम्बोधनभर सहमति र सहकार्यमा जोड दिएका थिए। उनले त्यसका लागि एमालेको तर्फबाट गर्नुपर्ने जस्तोसुकै त्यागका लागि तयार रहेको बताएका थिए।
‘नेकपा एमालेले के कस्तो त्याग गर्दा सहमति र सहकार्यको अवस्था सिर्जना हुन्छ, र तत्काल मध्यावधि निर्वाचन रोकिन्छ, त्यस कुरामा नेकपा एमाले दुई हात उठाएर सहयोग गर्न तयार छ। अरु पनि पनि त्यो ढंगले आउनुपर्यो भन्ने आग्रह गर्न चाहन्छु’, उनले भने।
त्यस्तै, उनले आफूहरूले ध्यान पुर्याएनौं र कसैलाई निषेध मात्रै गर्न खोज्यौं भने मध्यावधि निर्वाचन अवश्याम्भावी रहेको चेतावनी दिए। मध्यावधि रोक्नका लागि एमाले सबैसँग छलफल गर्न तयार रहेको उनको भनाइ थियो।
कार्कीको राजीनामा घोषणासँगै विश्वासको मत लिने प्रस्तावमाथिको बाँकी प्रक्रिया अन्त्य भएको थियो। प्रदेश सभा अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ।
कार्की सर्वोच्च अदालतको परमादेश अनुसार गत भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका थिए। उनी प्रदेश सभाको सबैभन्दा ठूलो दल एमालेको संसदीय दलको नेताका रुपमा मुख्यमन्त्री नियुक्त भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।