काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार विश्वासको मत लिँदैछन्। कोशी प्रदेश सभाको शनिबार दिउँसो १ बजे बस्ने बैठकमा कार्कीले विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने कार्यसूची छ। प्रस्ताव शनिबार नै निर्णयार्थ प्रस्तुत हुनेछ।
कार्की भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका थिए। संवैधानिक प्रावधान अनुसार उनले तीस दिनभित्र विश्वासको मत लिइसक्नुपर्छ। शनिबार तीस दिन पुग्दैछ।
कार्की सर्वोच्च अदालतको परमादेशबाट मुख्यमन्त्री नियुक्त भएका थिए। पूर्ण इजलासले २०८० भदौ २१ गते सुनाएको फैसलामा भनिएको थियो- ‘आदेश प्राप्त भएको मितिले ४८ घण्टाभित्र नेपालको संविधानको धारा १६८ को उपधारा ९३० बमोजिमको प्रक्रियाबाट मन्त्रिपरिषद् गठन गर्नू गराउनू भनी प्रत्यर्थी कोशी प्रदेश प्रमुखसमेतको नाउँमा परमादेशसमेत जारी गरिएको छ।’
प्रदेश सभाको सबैभन्दा ठूलो दल एमालेको संसदीय दलका नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएता पनि उनले विश्वासको मत पाउने सम्भावना देखिएको छैन।
मंसिर ४ मा सम्पन्न प्रदेश सभा निर्वाचनबाट एमाले सबैभन्दा ठूलो दल बनेको थियो। ९३ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ४७ सांसद चाहिन्छ। तर एमालेको ४० सिट मात्रै छ। त्यसमध्ये एक जना उपसभामुख छिन्। सभामुख पद रिक्त भएको अहिलेको अवस्थामा उपसभामुखले सभा सञ्चालन गर्ने भएकाले मत दिन पाउने अवस्था छैन।
निर्वाचनपछि कार्की नेतृत्वको यो सरकार चौथो हो। सुरुवातमा कार्की नै मुख्यमन्त्री थिए। उनीपछि दुई पटक कांग्रेसका उद्धव थापा मुख्यमन्त्री नियुक्त भएका थिए।
![koshi1696654549.jpg](https://nepallive.net/uploads/posts/koshi1696654549.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।