चितवन- नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाली कांग्रेस पार्टी विस्तारित एउटा ठूलो परिवार भएको बताएका छन्।
नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर १ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘विस्तारित परिवारमा समस्या आउँछ, प्रश्न उठ्छ, एकअर्काप्रति असन्तुष्टि उत्पन्न हुन्छ, तर परिवारभित्रको विवाद मिलाउँदै अगाडि बढ्नुपर्छ।’
मन्त्री डा महतले आफूहरू संघर्षको राजनीतिमा नभइ सत्ता राजनीतिमा भएकाे बताए। उनले भने, 'संघर्ष राजनीतिमा एउटै लक्ष्य दिने मात्र हुन्छ, सत्ताको राजनीतिमा दिन र लिने दुवै हुन्छ। मैले पनि जिम्मेवारी पाउनु पर्छ भन्ने राजनीतिमा आज हामी छौं। संख्या ठूलो भएपछि सबैले जिम्मेवारी पाउँदैनन्।’
अरुकोभन्दा आफैभित्रको आलोचना बढी कांग्रेसले गर्ने गरेकाे उनकाे भनाइ थियाे। उनले भने, 'यो कांग्रेसभित्रको समस्या हो। हामी विपक्षीबारे खासै बोल्दैनौँ, आफ्नै साथीभाइ र पार्टीका बारेमा ज्यादा बोल्छौं’ मन्त्री डा महतले भने, ‘हामी ठूलो संख्यामा छौं, व्यक्तिगत स्वतन्त्रमा विश्वास गछौं। जसले गर्दा सबै कुरा अभिव्यक्त गर्नुपर्ने ठाउँमा पनि हुन्छ, नगर्नुपर्ने ठाउँमा पनि हुन्छ।’
पार्टीभित्र समस्या भए पनि सबैको आकांक्षा एकैपटक पूर्ति गर्न नसकिने बताउँदै उनले आजका दिनमा पनि नेपाली कांग्रेसकाे सान्दर्भिकता रहेकाे बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।