काठमाडौं– भाषा आयोगका अध्यक्षसहितका पदाधिकारीहरुले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपरान्ह भएको छलफलमा उनीहरुले सरकारी कामकाजको भाषासम्बन्धी पहिले भएका सिफारिसहरुमा केही संशोधन गर्नुपर्ने विषय सिफारिस पेस गरेका थिए।
त्यसैगरी भेटवार्तामा आयोगभित्र रहेका व्यवस्थापनका आन्तरिक समस्या र तिनका समाधानबारे पनि छलफल भएको थियो।
बिहीबार नै नेपाल ट्रष्टका पदाधिकारीहरुले पनि ट्रष्टको नामका रहेको सम्पत्ति र तिनको उपयोगबारे प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका छन्।
छलफलका क्रममा ट्रष्टका सम्पत्तिको अभिलेख राख्ने र उपयोगका विधिबारे पनि चर्चा भएको थियो।
त्यसैगरी निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहसहित आएको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीसँग भेटवार्ता गरेको छ। भुक्तानी सम्बन्धी आफूहरुको मागमा कुनै सुनुवाइ नभएको भन्दै उनीहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
प्रधानमन्त्री प्रचण्डले निर्माण व्यवसायीहरुको मागप्रति आफ्नो ध्यानाकर्षण भएको र मागको उचित सम्बोधन हुने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।