काठमाडौं– उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि संयुक्त अधिराज्यका आवासीय राजदूत रब फेनले भेट गरेका छन्।
बिहीबार रक्षामन्त्रालयमा उनीहरुबीच भएको भेटमा नेपाल र बेलायतबीच सदियौंदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ बनाउँदै द्विपक्षीय हितलाई थप प्रवर्द्धन गर्ने विषयमा छलफल भएको मन्त्रालयका सहसचवि एवं प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए।
उपप्रधान तथा रक्षामन्त्री खड्काले नवनियुक्त बेलायती राजदूतलाई स्वागत गर्दै दुई देशबीच सरकारी स्तरमा मात्र नभई जनस्तरमासमेत घनिष्ठ र सौहार्दपूर्ण सम्बन्ध रहेको चर्चा गरे।
बेलायती राजदूत फेनको नेपाल बसाईको क्रममा दुई देशबीचको सम्बन्धलाई थप फराकिलो बनाउँदै नयाँ उचाइमा पुर्याउन सहयोग पुग्ने मन्त्री खड्काले विश्वास व्यक्त गरे।
संयुक्त अधिराज्य नेपालको पुरानो मित्र भएको र नेपालको आर्थिक सामाजिक विकासमा विगतदेखि नै सहयोग उपलब्ध गराउँदै आएकोमा उपप्रधानमन्त्री खड्काले धन्यवाद व्यक्त गरे।
![uk rajdut (2)1696511200.jpg](https://nepallive.net/uploads/posts/uk rajdut (2)1696511200.jpg)
उनले दुई देशबीच सहयोगका क्षेत्रहरू आगामी दिनमा थप फराकिलो हुँदै जाने विचार व्यक्त गरे। शिष्टाचार भेटवार्ताका क्रममा उनले सेवा निवृत्त ब्रिटिस गोर्खा सैनिकलाई समान पेन्सनलगायतका सुविधा उपलब्ध गराउने सम्बन्धमा संयुक्त अधिराज्य सरकारबाट आवश्यक सहयोग हुने विश्वास व्यक्त गरे।
भेटवार्ताका क्रममा जलवायु परिवर्तन, दुई देशका सेनाबीच सहयोग आदान–प्रदान लगायतका विषयमासमेत छलफल भएको थियो।
राजदूत फेनले दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध कायम भएको एक सय वर्ष पूरा भएको र यसबीचमा दुई देशको सम्बन्धले नयाँ उचाई लिएको बताए। नेपालले संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वशान्ति स्थापना कार्यमा पुर्याएको योगदान विशिष्ट रहेको कुरा उल्लेख गर्दै उनले नेपालको आर्थिक, सामाजिक र मानवीय विकासमा सहयोग गर्न संयुक्त अधिराज्य सरकार सदैव तत्पर रहेको विचार व्यक्त गरे।
राजदूत फेनले आफ्नो कार्यकालमा नेपाल र संयुक्त अधिराज्यबीचको द्विपक्षीय सम्बन्धलाई थप फलदायी र उपलब्धिमूलक बनाउन निरन्तर प्रयास गर्ने कुरा राखे। भेटमा रक्षा मन्त्रालय तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरूकोसमेत उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।