काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले विस्तृत शान्ति सम्झौता र माओवादी जनयुद्धबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति फिर्ता लिन आग्रह गरेका छन्।
बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सापकोटाले यस्तो आग्रह गरेका हुन्। सापकोटाले ओलीको अभिव्यक्ति विस्तृत शान्ति सम्झौता, नेपालको संविधान र ओली नै अध्यक्ष रहेका बेला तत्कालीन नेकपाले निर्वाचन आयोगमा बुझाएको प्रतिवेदनकोसमेत भावनाविपरीत रहेको बताए।
पूर्व प्रधानमन्त्रीसमेत रहेका रहेका प्रमुख प्रतिपक्षी दलका नेताले गैरजिम्मेवार अभिव्यक्ति दिन नसुहाउने उनको टिप्पणी थियो। सापकोटाले आफ्नो अभिव्यक्तिप्रति पुनर्विचार गर्न पनि ओलीलाई अनुरोध गरेका छन्।
यस्तै पूर्वको धरानबाट सुरु भएको सामाजिक अराजकता विस्तार हुँदै नेपालगन्जसम्म पुगेका बेला जिम्मेवार राजनीतिक नेताले त्यसलाई सम्हाल्न जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा भड्काउने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए।
संसद्मा घण्टौंसम्म भाषण गर्दासमेत सामाजिक सद्भाव कायम राख्न एक शब्द उच्चारण नगर्नुलाई आफू र आफ्नो दलले गम्भीर रुपमा लिएको सापकोटाको भनाइ थियो।
![Ncell 2](https://nepallive.net/uploads/bigyaapan/61456500.jpg)
![Ncell 2](https://nepallive.net/uploads/bigyaapan/61475300.jpg)
‘प्रमुख प्रतिपक्षी दल भनेको 'पार्ट अफ दि इस्टेट' हो। 'वेइटिङ गभर्नमेन्ट'को मूल नेताले शान्ति सम्झौताविपरीत अभिव्यक्ति दिएर हिजो युद्धमा गएका सबै घाइतेहरुले गोली बोकेको शरीर लिएर सडकमा आन्दोलन गर भन्न खोजेको हो?’, उनले भने, ‘धरानदेखि नेपालगन्जसम्मका घटनाहरुले समाजलाई राम्रो सन्देश दिएको छैन। सबै दल एउटै मञ्चमा बसेर पत्रकार सम्मेलनमार्फत् एउटा सन्देश दिनुपर्यो, हामी यसो भनिरहेका छौं। देशमा अर्को द्वन्द्वको चित्र आइराखेको छ। म भन्न चाहन्छु सभामुख महोदय प्रमुख प्रतिपक्षी दलका नेताले आफूले बोलेका कुराहरु दुईवटा कोणबाट एउटा देश, समाजिक सद्भाव भड्काउँदा अराजकताको स्थितिमा छ त्यस हिसाबले हामीले सम्हाल्नुपर्दछ। अर्को संवैधानिक हिसाबले व्यवस्थित गरिएका द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्ने नेपालबाट सिकौं भनिरहेका छौं।’
उनले अघि भने, ‘संसारलाई गौरवको शिक्षा दिइरहेका छौं। दुईटा हिसाबले प्रमुख प्रतिपक्षी दलका नेताले दिएका अभिव्यक्ति निकै गम्भीर छन्। त्यसमा प्रमुख प्रतिपक्षी दलका नेताले रिथिङकिङ गर्नुपर्छ भन्ने म निकै जोड दिएर कुरा राख्न चाहन्छु।’
उनले नेपालको संविधानको प्रास्तावनामै नेपाली जनताले पटक–पटक गर्दै आएका शान्तिपूर्ण र सशस्त्र संघर्ष र बलिदानलाई स्मरण र सहिदहरुलाई सम्मान गर्दैनौं भन्ने भाषा प्रयोग भएको स्मरण गराए। ओलीले नै नेकपा अध्यक्ष हुँदा माओवादी जनयुद्धको वैधता स्वीकार गरिसकेको तथ्य सापकोटाले प्रस्तुत गरे।
नेकपाले निर्वाचन आयोगलाई २०७५ साल जेठ ३ गते मा बुझाएको प्रतिवेदनमा भनिएको छ, ‘एकातिर नेकपा एमालेको नेतृत्वमा सञ्चालित शान्तिपूर्ण र वैधानिक आन्दोलनले कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाउन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्यो भने अर्कातिर तत्कालीन नेकपा माओवादीको नेतत्वमा सञ्चालित जनयुद्धले उत्पीडित, वर्ग, जाति, क्षेत्र, लिंग र विभिन्न सांस्कृतिक समुदायका जनतामा राजनीतिक चेतना र जागरण ल्याउन तथा संगठित र आन्दोलित गर्न महत्त्वपूर्ण भूमिका खेल्यो।’
उक्त कुरालाई स्मरण गराउँदै सापकोटाले भने, ‘के यी तथ्यहरुका आधारमा प्रमुख प्रतिपक्षी दलका नेताले बोलेका अभिव्यक्तिहरुमा हाम्रा सबै संस्थागत रुपमा व्यवस्थित गरिएका कुराहरुका विरोधमा छन् कि छैनन्?’
सापकोटाले विस्तृत शान्ति सम्झौताको बुँदा नम्बर ९ समेत पढेर संसद्मा सुनाए। ‘संविधान सभामार्फत् नेपाली जनताको सार्वभौम सत्ताको सुनिश्चितता, अग्रगामी राजनीतिक संरचना र आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण गर्न दुवै पक्षबीच राजनीतिक सहमतिका आधारमा भएको देशमा २०५२ सालदेखि चल्दै आएको सशस्त्र द्वन्द्वलाई अन्त्य गरी शान्तिपूर्ण सहकार्यको नयाँ अध्याय प्रारम्भ भएको घोषणा गर्दै नेपाल सरकार र नेकपा माओवादीबीच भएको युद्धबिरामलाई दीर्घकालीन शान्तिमा परिणत गर्ने प्रतिबद्धताका साथ नेपाल सरकार र नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता सम्पन्न गरिएको छ।’
ओलीले सामाजिक सदभाव खलल पार्न भइरहेका प्रयासबारे मुख नखोलेको उनले बताए। ‘नेपालगञ्ज कर्फ्यूले घेरिएको छ। भदौको पहिलो हप्ता धरान यस्तै चपेटामा थियो र सिराहामा त्यस्तै भयो। देशैभरी जातीय र साम्प्रदायिक घटना बढिरहेका छन्। चिकित्सक सुरक्षित छैनन्, हातपात भइरहेको छ। प्राध्यापकमाथि त्यस्तै छ’, उनले भने, ‘तर संसदमा पूर्वप्रधानमन्त्री घण्टौं भाषण गर्नुहुन्छ। यस्ता सवालका बारेमा, अराजकता र यस्ता घटनाको नियन्त्रण गर्ने विषयमा कुरा आउँदैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।