काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामालाई नियुक्त गर्न आफ्नो पार्टीको केन्द्रीय सदस्य भएकाले सहज भएको बताएका छन्। बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा सांसदले सोधका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।
उनले लामा नेकपा माओवादी केन्द्रका सदस्य भएको र गुम्बा विकास समितिको अध्यक्षका साथै एमाले र माओवादी पार्टीबाट पनि पटक-पटक मन्त्री र सांसद भइसकेकाले ल्हारक्याल लुम्बिनी विकास कोषका लागि योग्य व्यक्ति भएको उनको भनाइ थियो।
ल्हारक्यालमाथि विभिन्न आरोप लागे पनि ती आरोप राज्यका सबै अंगले प्रमाणित नगरेको र आरोप पुष्टि नभइसकेकाले उनी अभियुक्त नभएको दाबी मन्त्री किराँतीले गरे। नेपालको कानुनबमोजिम ल्हारक्याललाई कोषको उपाध्यक्षमा नियुक्त गरिएको उनले बताए।
उनले कसैको प्रभाव र दबाब बिना खुसीले ल्हारकाललाई नियुक्त गरिएको बताए।
‘कसैको प्रभाव दबाब बिना खुसीले नियुक्त गरेको हुँ। गिरिजाबाबुको पालामा उहाँ गुम्बा विकास समितिको अध्यक्ष भइसकेको मान्छे, एमालेको पालामा आएर संविधान सभाको सदस्य, पूर्वअर्थराज्यमन्त्री भइसकेको, माओवादीतिर आइसकेपछि पनि पटकपटक सांसद, भइसकेको मान्छे उहाँलाई लागेको आरोप राज्यका सबै अंगले प्रमाणित नगरेको र लागेको आरोप पुष्टि नभइसकेपछि मान्छे अभियुक्त हुँदैन,’ उनले भने, ‘अभियुक्त नभएकाले नेपालको कानुनबमोजिम नियुक्त गरेको हो। हाम्रो पार्टीको केन्द्रीय सदस्य भएकाले पनि नियुक्तिका लागि सजिलो भयो।’
यसैगरी उनले नेपाल वायुसेवा निगम ४८ अर्ब ऋणमा रहे पनि आफू मन्त्री बनेर आइसकेपछि ४ अर्ब ऋण तिरिसकेको बताए। अहिले निगमसँग १ अर्ब ६५ करोड रकम रहेको र त्यसले साना जहाज खरिद प्रक्रियामा लागेको उनको भनाइ थियो।
उनले इतिहासदेखि अहिलेसम्मको ऋण मुक्त हुनेगरी निगम नाफामा नभए पनि आफू आइसकेपछि सञ्चालन कस्टमा नाफा भएको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।