गगन थापा (फाइल तस्बिर) काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले हालै दिएको कैद माफीको विषयमा असन्तुष्टि जनाएका छन्। बिहीबारको प्रतिनिधि सभा बैठकमा उनले फागुन ७, असोज ३ र जेठ १५ जस्ता जस्ता पवित्र दिनलाई अपवित्र बनाउने काम बन्द गराउन चाहेको बताए।
‘सभामुखलाई पनि अनुरोध गर्न चाहन्छु, हामीले बनाएको कानुनको अपव्याख्या भएकाले, दुरुपयोग भएकाले, बदनियत राखिएकाले गर्दा हामीले नै सच्याउनुपर्ने भएकाले सरकारलाई निर्देशन होस्, यहाँ (सदनमा) ल्याइयोस्, हामी त्यसलाई सच्याउँछौँ,’ उनले भने, ‘फागुन ७, असोज ३ र जेठ १५ जस्ता हाम्रा पवित्र दिनहरूमा अपवित्र काम गर्ने बदनियत राख्ने कुरालाई सधैंका लागि बन्द गर्न चाहन्छौँ।’
सरकारले आफ्नो सुविधा अनुसार फरकफरक आधार टेकेर कैद माफी गर्ने गरेको भन्दै थापाले एउटै निश्चित प्रबन्ध गर्नुपर्ने आवश्यकत औँल्याएका थिए। उनले सरकारलाई यस विषयलाई सदनमा ल्याउन आग्रह पनि गरे। भने, ‘म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु, सामान्य विषय सोचेर पन्छाउने काम नहोस्।’
थापाले संविधान दिवसको दिन ६७० जनालाई माफी मिनाहा गरिएको प्रसंग जोड्दै त्यस सन्दर्भमा भइरहेको विरोध स्वाभाविक भएको बताए। ‘६७० मध्ये कति संविधानसम्मत, कानुनसम्मत पनि छ होला। तर फेरि एकपटक संविधानको मर्म विपरीत र कानुनको छिद्रबाट बदनियतका साथ छिरेर गम्भीर अपराधको दोषी ठहर गरिएकालाई कैद माफी मिनाहा गरिएको छ। बदनियताका साथ भएको निर्णय गलत छ। यसको विरोध स्वाभाविक छ। बाञ्छनीय छ। यसको विरोध हुन्छ। हामी विरोध गर्दछौँ,’ उनले भने।
खासगरी नेपालगञ्जका चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योगराज ढकाललाई सरकारको सिफारिसमा राष्ट्रपतिले संविधान दिवसका दिन कैद माफी दिएपछि विरोध भइरहेको छ। चेतनको २८ असार २०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा खुँडा प्रहार गरी हत्या भएको थियो। चेतनको हत्या अभियोगमा बाँके जिल्ला अदालतले रिगललाई दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो।
हत्या अभियोगमा जन्मकैदको सजाय पाएका रिगल सत्तारुढ दल नेपाली कांग्रेसनिकट तरुण दलका नेता हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।