काठमाडौं– प्रतिनिधि सभा सदस्य नागिना यादवले मिटरब्याजको समस्या समाधानका लागि बनेको आयोगले कसरी काम गरिरहेको छ? भन्दै प्रश्न गरेकी छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै सांसद यादवले मिटरब्याजसम्बन्धी आयोगले कसरी काम गरिरहेको छ भनेर सरकारबाट नियमन नभएको बताइन्।
‘हामीले मिटरब्याजसम्बन्धी विधेयक पनि पारित गर्यौँ। मीटरब्याजी (पीडित)हरुका लागि आयोग पनि बनेको छ। तर ती आयोगहरुले कसरी काम गरिराखेको छ भन्ने कुराको नियमन सरकारबाट भएको देखिँदैन। अहिले पनि मिटरब्याजबाट पीडित नै छन्।’
उनले कतिपय साहु महाजनहरु भागेर भारत गएको र पीडितहरु जस्ताको त्यस्तै भएको बताइन्।
उनले थपिन्, ‘यो देश यति अराजक छ। जसको सीमा नै छैन। यो सरकारले के हेरिरहेको छ? के कस्तो कार्यान्वय गरिराखेको छ? त्यसमा कुनै ध्यान गएको छैन। आयोग पनि एकतर्फी गठन गरिएको छ। त्यो सर्वदलीय हुनुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।