काठमाडौं– दुर्घटनामा परी घाइते भएपछि गम्भीर अवस्थामा रहेका एक व्यक्तिलाई काठमाडौं ल्याउन नेपाल एयरलाइन्सको जहाज जुम्ला पठाएको छ। ताप्लेजुङ र सोलुखुम्बुको फाप्लुको उडान स्थगित गरेर नेपाल एयरलाइन्सको जहाजलाई जुम्ला पठाएको हो।
पर्यटनमन्त्री सुदन किरातीले सामाजिक सञ्जाल फेसबुकमार्फत् घाइतेलाई काठमाडौं ल्याउन नेपाल एयरलाइन्सको जहाज जुम्ला पठाइएको बताएका छन्।
जुम्ला निवासी दीप बहादुर रावत जिल्ला अस्पताल जुम्लामा विगत ६ दिनदेखि भेन्टिलेटरमा रहेका थिए। मौसम खराबीका कारणले बिहीबारसम्म उडान हुन नसक्दा स्थिति झन् गम्भीर हुँदै गएकोले उद्दारको लागि नेपाल एयरलाइन्सको जहाजलाई आकस्मिक रूपमा पठाउनु परेको पर्यटनमन्त्री किरातीले उल्लेख गरेका छन्।
ताप्लेजुङ र सोलुखुम्बु निर्धारित उडान स्थगित गरेर जहाजलाई जुम्ला पठाउनुपरेको उल्लेख गर्दै मन्त्री किरातीले यात्रुहरुमा पर्न गएको असुविधाप्रति क्षमा याचना गरेका छन्। उनले जहाज खरिद प्रक्रिया अघि बढिसकेको उल्लेख गर्दै खरिदपछि मानवीय उद्दारको लागि एउटा जहाज एयर एम्बुलेन्सको रूपमा प्रयोग गर्नुपर्ने गहिरो महसुस भएको जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।