राजविराज– सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व आज (बिहीबार)देखि मिथिलाञ्चलमा धार्मिक विधि पूर्वक सुरु भएको छ।
आश्विन कृष्ण पक्षको सप्तमीदेखि नवमीसम्म मनाइने यस पर्वमा विशेष गरी विवाहित महिलाहरुले निराहार व्रत बसी परिवार र सन्तानको सुखशान्तिका लागि कामना गर्छन्। जितियामा सूर्यलाई ‘जितमहान भगवान’का रुपमा पूजा गरिन्छ।
तराईमा बसोबास गर्ने विशेष गरी थारु महिलाहरुले संस्कृतिक पर्वका रुपमा जितिया मनाउँछन्। यस अवसरमा विवाह गरी गएका चेलीलाई अनिवार्य रूपमा माइत बोलाउने गरिन्छ।
यस व्रतको प्रभावले आफना सन्तान हरेक क्षेत्रमा सफल हुने तथा दीर्घायु हुने विश्वास गरिन्छ।
जितियाको पहिलो दिन ‘नहा, खा’ (नुहाएर खानु) विधिअनुसार पर्वको सुरुवात भएको छ। यसदिन महिलाहरुले घिरौंलाको पातमा ‘जितमाहन भगवान’ र दिंवगत पितृलाई प्रसाद (पिना, सख्खर र तोरीको तेल) चढाइ पुजा गर्ने र कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ। जसलाई ‘माछ मरुवा’ भनिन्छ।
दोस्रो दिन बिहान काग कराउनुभन्दा पहिल्यै व्रतालुले ‘ओठगन’ (खानेकुरा ओठमा लगाउनु) सम्पन्न गर्नु पर्ने मान्यता छ। प्रायः जसो महिलाले ‘ओठगन’मा दही, चिउरा खाने गरेको पाइन्छ।
त्यसपश्चात् महिलाहरुको कठोर व्रत बस्ने समय सुरु हुन्छ। २४ घण्टासम्म पानी पनी नपिइ उपवास बस्ने यस व्रतमा थुक पनि निल्न नहुने मान्यता छ। उपवास बसेका दिन महिलाहरुले डकार गरे, खकार निले वा जिब्रो टोके व्रत असफल भएको मानिन्छ। उपवासको समयमा ‘जितमहान भगवान’को कथा सुन्ने र नाचगान गर्ने गरिन्छ।
पर्वको तेश्रो दिन बिहान व्रतालुले जलासयमा गएर स्नान गरी घिरौंलाको पातमा तेल लगाई त्यसमाथि अर्घ्य दिने र सोही तेल आफ्ना सन्तानका कपालमा लगाइदिने चलन छ। यसपछि सबैलाई दही, चिउरा र फलफूल खान दिएर व्रतालुले पनि व्रत समापन गर्ने चलन रहेको व्रतालुहरु बताउँछन्।
राजा शालिवहानको राज्यमा एउटी महिलाका ७ जना छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातजनै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिन देखि शालिवहानलाई ‘जितुमाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन छ जीवनमा एक पटक टुटेपछि पुनः गर्न नपाइएने हुँदा हत्तपत महिलाले यो पर्व अँगाल्दैनन्। तर मिथिला क्षेत्रमा पुत्र हुने प्रत्येक महिलाले जीवनमा यो पर्व अपनाउनै पर्ने चलन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।