काठमाडौं– कोशी प्रदेशको संसद्मा सहभागी सबै दलले एकआपसमा मिल्नुको विकल्प नरहेको औंल्याएका छन्। बुधबार बसेको प्रदेश सभा बैठकमा बोल्ने सबै दलका शीर्ष नेताले उक्त धाराणा राखेका हुन्।
बैठकमा सम्बोधन गर्दै नेताहरुले प्रदेशमा निरन्तर सत्ता परिर्वतन भएर अस्थिरताउन्मुख भएकाले त्यसलाई रोक्न दलहरु मिल्नुपर्नेमा जोड दिएका छन्। पछिल्लो पटक एमाले नेता हिक्मत कार्की सर्वोच्चको फैसलामार्फत् संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री भएका छन्। उनले असोज २१ गतेसम्ममा आफूसँग बहुमत रहेको सिद्ध गर्नुपर्ने छ। सोही पृष्ठभूमिमा बसेको संसद्को पछिल्लो बैठकमा दलका नेताहरुले सहमतिमा जोड दिएका हुन्।
एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्रकुमार राईले प्रदेश सभाका सबै दलहरुले एक अर्काको अस्तित्व स्वीकार गरेर मिल्नुपर्ने बताएका छन्।
‘व्यवस्था दलीय हुनेबित्तिकै त्यहाँ प्रतिस्पर्धा पनि हुन्छ। एकले अर्कालाई स्वीकार्नुपर्ने पनि हुन्छ। र गर्नुपर्ने कामहरु मिलेर पनि गर्नुपर्छ। अर्को दलको शक्तिको अस्तित्व नै नस्वीकार्ने र जसरी पनि अर्को दलमाथि जाइलाग्ने हो भने यो व्यवस्थालाई नै नस्वीकार्ने हुन्छ,’ स्थिर सरकारका लागि मिल्नुपर्ने बताउँदै राईले भने, ‘सरकार र संसद्को कामको भूमिकामा मिल्नसक्ने जति हामी मिलेर जानुपर्ने हुन्छ।’
संसद्को अंकगणित विशिष्ठ रहेकोले संयुक्त सरकार बनाउनुपर्ने राईले जोड दिए। राईले भने, ‘विशिष्ठ परिस्थितिमा मिलेर संयुक्त सरकार बनाउनुपर्ने यति हैन त।’
यस्तै, राप्रपाका संसदीय दलका नेता भक्ति सिटौलाले सबै दल मिलेर वर्तमान अवस्थालाई निकास दिनुपर्ने बताए। ‘हामीले सहकार्य गर्न जरुरी छ। अब पनि हामी सहकार्य, समन्वय गरेर गएनौं भने प्रदेशमा विकासका काम अवरोध भएका छन्, त्यसलाई निकास दिनुपर्छ। म सबै, सभासदहरुलाई के अनुरोध गर्दछु भने बसौं, छलफल गरौं,’ सिटौलाले भने।
प्रदेशभित्रका सबै समस्याहरुलाई राजनीतिक तवरबाट समाधान गर्नुपर्ने उनको ठहर छ। उनले भने, ‘यहाँका हरेक समस्याको राजनीतिक तवरबाट समाधान गर्नुपर्छ।’
माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले प्रदेशभित्रको राजनीतिक संकटलाई हल गर्न सबै दल जिम्मेवार भएर अघि बढ्नुपर्ने बताए। ‘हामीले फरक ढंगले सोचेर अघि बढ्न सकिन्छ। हाम्रो साझा चाहना भनेको प्रदेश संकटमा नजाओस् भन्ने हो। हामीले जिम्मेवारीपूर्वक सोच्ने हो भने म फेरि पनि आग्रह गर्न चाहन्छु कि सिंगो प्रदेश सभा एकताबद्ध भएर तमाम खालका समस्या समाधान गर्ने एकताको सन्देश प्रवाह गर्न आवश्यक छ र सम्भव पनि छ,’ आङ्बोले भने।
आङ्बोले सबै दल मिल्न ठूलो छाती बनाउनु पर्ने बताए। ‘त्यसका लागि ठूलो छाती बनाएर अघि बढ्न सक्छौं,’ उनले भने।
त्यस्तै, कांग्रेस नेता तथा निर्वतमान मुख्यमन्त्री उद्धव थापाले मिल्नुको विकल्प नरहेको बताए। सबै दलहरु आग्रह पूर्वाग्रहबाट मुक्त हुनुपर्ने उनको भनाइ थियो।
‘अहिलेको अवस्थाबाट प्रदेशलाई मुक्त बनाउने हो भने हामी मिल्नुको विकल्प छैन। यो आग्रहका साथ अनुरोध गर्न चाहन्छु। प्रदेशको अवस्थालाइ हामी चिन्तामा राखौं। कसरी प्रदेशको अवस्थालाई अघि बढाउन सकिन्छ भन्नेमा सोचौं। मुख्यमन्त्रीले विश्वासको मत पाउन सक्नु भएन भने धारा १६८ को उपधारा ५ मा प्रक्रिया अघि बढ्छ। अहिलेसम्म मिल्न सकेनौं भने पनि कम्तीमा त्यहाँ चाहिँ हामी मिलौं,’ थापाले आङ्बोको कुराको समर्थन गर्दै भने, ‘सबैले ठूलो छाति बनाऊँ।’
यता, सत्ताको नेतृत्व गरेको दल एमालेका संसदीय दलका सचेतक रेवतीरमण भण्डारीले आफूहरु सबै विकल्पमा छलफल गर्न तयार रहेको बताए। भण्डारीले सत्ताको नेतृत्व आफ्नो मात्र दाबी नरहेकोले प्रदेशभित्रका दलहरुसँग सामूहिक छलफल गरेर अघि बढ्नेमा प्रतिबद्धता जनाए।
‘आपसी सद्भावका लागि, एक्ताका लागि, स्थिर सरकार र सुशासनका लागि हामी मिल्नुको विकल्प छैन। सबै मिलेर उपयुक्त विधि बनाऊँ सरकार हाम्रै बनाउनुपर्छ भन्नेमा एमाले छैन। सबै मिलौं। हामी मिल्न तयार छौं,’ भण्डारीले भने।
आसन्न सरकारको नेतृत्वका लागि साझा मापदण्ड बनाएर अघि बढ्नुपर्ने भण्डारीले बताए। ‘बसौं सबै दलहरु एउटा मापदण्ड बनाऊँ हामी अक्षरक्ष पालना गर्न प्रतिबद्ध छौं,’ सचेतक भण्डारीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।