काठमाडौं– जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, लमही, दाङका इन्जिनियरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन करोड बढी गैर कानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको छ।
बुधबार अख्तियारले विशेष अदालतमा इन्जिनियर रामबहादुर रानाभाट उपर ३ करोड १५ लाख ८१ हजार ६६ रुपैयाँ बिगो कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो।
भ्रष्टाचार गरी रानाभाटले गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा उनले सार्वजनिक सेवामा स्थायी नियुक्ति लिएको २०४६ असार ३० गतेदेखि २०७९ कात्तिक ६ गतेसम्मको आम्दानी र खर्चको हिसाब गर्दा भ्रष्टाचार गरेको पाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
उनले जाँच अवधिको बेला गरेको खर्च, लगानी तथा सम्पत्ति आर्जनमा ३ करोड १५ लाख ८१ हजार ६६ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको साथै उनी र उनका परिवारलेसमेत अमिल्दो र अस्वाभाविक जीवनस्तर यापन गरेक¸ आफ्नो हैसियतभन्दा बढी रकम बराबरको आफ्नो र परिवारको नाममा विभिन्न कम्पनीको शेयर खरिद, जग्गा खरिद, अध्ययन खर्च, घर निर्माण तथा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा रकम जम्मा गरेको देखिएको अख्तियारले जनाएको छ।
उनको ३ करोड १५ लाख ८१ हजार ६६ रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी रहेको पुष्टि भएपछि सोही रकम बराबरको बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।
उनले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती राधा रानाभाटसमेतको नाममा जग्गाहरु खरिद, घर निर्माण, शेयर खरिद तथा बैंक खाताहरुमा रकम मौज्दात लगायतमा गरिएका खर्च लागत मूल्य बराबरको भागको सम्पत्ति बिगो जफत गर्ने प्रयोजनार्थ राधा रानाभाटलाई पनि प्रतिवादी बनाइएको छ।
भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग, दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम बिगो जफत गर्ने प्रयोजनको लागि राधा रानाभाटलाई प्रतिवादी कायम गर्ने साथै प्रतिवादी राधा रानाभाटको नाममा रहेको स्रोत नखुलेको, आंशिक स्रोत नखुलेको र आंशिक स्रोत खुलेको सम्पत्तिबाट बिगो जफत गर्न पनि माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।