काठमाडौं– उप–प्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र एमसीसी, अमेरिकाका सीईओ एलिस अलब्राइटबीच मंगलबार गृह मन्त्रालयमा भेटवार्ता भएको छ।
सीईओ अल्ब्राइइट र उनको टोलीलाई मन्त्रालयमा स्वागत गर्दै उप–प्रधानमन्त्री श्रेष्ठले पछिल्लो राजनीतिक परिवर्तनपछि सरकार जनताको आर्थिक-सामाजिक विकासको ऐतिहासिक जिम्मेवारी पूरा गर्ने काममा केन्द्रित रहेको र एमसीसी जस्ता परियोजनाको सफल कार्यान्वयनले त्यसमा योगदान दिने विश्वास व्यक्त गरे।
साथै नेपालको संसद्ले नै एमसीसी परियोजना पारित गरेकोले यसको कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको श्रेष्ठले बताए। परियोजनाको लागि जग्गा अधिग्रहण गर्ने र समग्र सुरक्षाको प्रत्याभूति गराउने काममा गृह मन्त्रालय लागेकोसमेत उनले बताए।
सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले जग्गा अधिग्रहणमा सहजीकरण गरिरहेको र परियोजना सुरक्षाको लागि कुनै कमी नहुने विश्वास श्रेष्ठले दिलाए।
एमसीए नेपालसँग परियोजना प्रगतिको पछिल्लो अवस्थाबारे आफूले जानकारी लिएकोसमेत उप–प्रधानमन्त्री श्रेष्ठले जानकारी गराए।
त्यसक्रममा सीईओ अल्ब्राइटले पाँच वर्षमा एमसीसी परियोजना सक्नैपर्ने भएकोले यसको कार्यान्वयनमा नेपाल सरकार र सरोकारवाला सबै पक्ष प्रतिबद्ध भएर लागेकोमा खुशी व्यक्त गरिन्। एससीसी कार्यान्वयनको जिम्मेवारी एमसीए नेपालको रहेको र यो नेपाल सरकार अन्तर्गतको संरचना रहेको उनको भनाइ थियो।
परियोजनाको समयभित्रै सफल कार्यान्वयनका लागि आफूहरू नेपाल सरकारका सरोकारवाला निकायहरूसँग निरन्तर समन्वयमा रहेकोसमेत अल्ब्राइटले बताइन्।
एमसीसी अमेरिकी वैदेशिक सहयोगको महत्त्वपूर्ण अंग भएको र यसको कार्यान्वयनले नेपाल-अमेरिका सम्बन्ध थप प्रगाढ हुने विश्वास सीईओ अल्ब्राइटले व्यक्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।