काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीले असोज १४ गतेबाट सुरू गरेको 'समाजवादी जागरण अभियान'मा पार्टी प्रवेशले आकर्षण देखिएको छ।
छिन्नमस्ता गाउँपालिकामा आयोजित सभामा विभिन्न पार्टी परित्याग गरी ३५३ जनाले एकीकृत समाजवादी पार्टी प्रवेश गरेको सो पार्टीले जनाएको छ। पार्टी अध्यक्ष माधवकुमार नेपाल र 'सम्मानित नेता' झलनाथ खनाले अबिर तथा माला पहिर्याएर पार्टी प्रवेश गराएका हुन्।
सो गाउँपालिकाको वडा नम्बर ३ बाट नुनु मुखियाको नेतृत्वमा अशोक सदा, राम जी मुखिया, शंकर मण्डल लगायत ४६ जना प्रवेश गरेका हुन्। त्यस्तै, वडा नम्बर २ बाट विन्देश्वर सदाको नेतृत्वमा ३७ जनाले पार्टी प्रवेश गरेका हुन्। वडा नम्बर ४ बाट जिवच्छ यादवको नेतृत्वमा ६० जनाले पार्टी प्रवेश गरेका हुन्।
पार्टी प्रवेश गरेका जिवच्छ यादवले अहिले गाउँमा कुनै पार्टीले संगठन नबनाएको र संगठन बिनाको राजनीतिले समाजमा व्यक्तिवादी विकृति बढी ल्याएकोले समाजवादी संगठनमा जोडिन चाहेको बताए। उनले आफू टोलटोलमा संगठन बनाउन लाग्ने बताउँदै पार्टीले फरक शैलीबाट जनतामा जानुपर्ने सुझाव समेत नेतृत्वलाई दिएका छन्।
पार्टी अध्यक्ष नेपालले नवप्रवेशीलाई अबिर लगाइदिँदै भने, 'एकीकृत समाजवादी पार्टीले समाजका सबै तप्का र तल्लो वर्गका जनताको समृद्धि र समतामूलक विकासको बाटो लिएको हुनाले जात, लिंग, धर्म, सम्प्रदायबीच सदभाव कायम गर्नुपर्दछ।'
समाजवादी पार्टीले असोज २८ सम्म मेची-महाकाली जागरण यात्रा जनताबीच जाने जनतालाई अभियानमा जोड्दै संगठन बिस्तार र वैचारिक स्कूलिङ चलाउने बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।