काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणको छानबिन गर्न सरकार डराएको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारको सुशासनमाथि प्रश्न उठाए।
उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठले हेटौँडा पुगेर सुशासन कायम गर्न खोजेको तर प्रतिपक्षले नदिएको भनी गलत आरोप लगाएको भन्दै आपत्ति पनि जनाए। ‘सुशासन रोक्न कुन विरोधी लाग्यो? साढे नौ किलो सुन भेपमा पक्राउ पर्छ, सरकार ढाकछोप गर्छ,’ उनले भने, ‘सय किलो सुनमा पक्राउ गर्छ तर छानबिन गर्न लडाइँ गर्नपर्छ। छानबिन गर्दा के बिग्रन्छ? किन डराउनु भएको छानबिनबाट? तर्सनु भएको हो?’
उनले सरकार सुशासन कायम गर्न नलागेको भन्दै सुशासनको अभियान कसरी पूरा हुन्छ भनेर प्रश्न समेत गरे। सुशासन कायम गर्नु सरकारको नियमित काम भएकाले सरकारले भ्रष्टाचार रोक्नुपर्ने उनको भनाइ थियो।
‘एयरपोर्टमा किन सुन तस्कर पक्राउ परेन? किन सिनामंगलमा पक्राउ पर्यो? अनि पछ्याएर किन अरु पक्राउ गरिएन?,’ ओलीले भने, ‘सुन ओसार्ने र सामान बुझ्ने मानिस पक्राउ पर्यो।’
आरोपी भगाउ र लुकाउ अभियानमा सरकार लागेको आरोप उनले लगाए।
सरकारविरुद्ध बोलेका कारण सुनिल शर्मा र अमरेशकुमार सिंहमाथि सरकारले सत्ताको दुरुपयोग गरेको आरोप उनले लगाए। एमालेका अध्यक्ष ओलीले नेपालगञ्जमा खुँडा प्रहार गरेर हत्या गरेको आरोप लागेका अभियुक्त योगराज ढकाललाई माफी दिएको कुरा पनि गलत भएको बताए। राष्ट्रपति रामचन्द्र पौडेलले हत्याका अभियुक्तलाई माफी दिँदा नेपालगञ्ज नै आतंकित भएको भनाइ उनको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।