काठमाडौं– प्रतिनिधि सभा सदस्य ईश्वरबहादुर रिजालले सरकारले मूल्यवृद्धि गर्छु भन्न आग्रह गरेका छन्। सरकारले जे बोल्यो, त्यसको उल्टो हुने गरेको भन्दै उनले मूल्यवृद्धि गर्छु भन्यो भने नियन्त्रण हुन सक्ने बताए।
‘म भौतिकवादमा विश्वास गर्छु। यद्यपि मैले कुरा, मान्छेको मुखमा लच्छिनले बास गरेन भने उसले जे बोलेको हुन्छ, त्यसको ठीक उल्टो हुन्छ रे। अहिले सरकारलाई हेर्दा त्यस्तै भएको छ। सरकार जे बोल्छ, त्यसको ठीक उल्टो हुन्छ। तसर्थ सरकारले अब मुलुकमा मूल्यवृद्धि गर्छु भनोस्, तै मूल्य नियन्त्रण हुन्छ कि,’ मंगलबारको प्रतिनिधि सभा बैठकमा उनले भने।
रिजालले थपे, ‘अब सरकारले म दण्डहीनताको अराजकता चलाउँछु भनोस्, तै कानुनी राज स्थापना हुन्छ कि। सरकारले सामाजिक सद्भाव विथोल्छु भनोस्, तै सामाजिक सद्भाव कायम हुन्छ कि। सरकारले राष्ट्रिय आत्मसमर्पणको नीति लिन्छु भनोस्, तै राष्ट्रिय स्वाभिमान बच्छ कि।’
उनले सास छउञ्जेलको आस र गठबन्धन सरकार छउञ्जेलको आस भन्दै सरकारलाई सुझाव दिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।