हेटौँडा- बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारलाई अधिकार र स्रोत-साधनविहीन बनाइँदा चरा लखेट्न राखेको बुख्याँचा जस्तो बन्दै गइरहेको बताएका छन्।
सोमबार हेटौँडामा आयोजित निकास साप्ताहिकको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले प्रदेश सरकारमा अधिकार, स्रोत-साधन र जनशक्तिको अभाव रहेको बताए। उनले अधिकार, स्रोत-साधन र जनशक्तिको अभावमा प्रदेश सरकार धान खेतमा चरा लखेट्न राखेको बुख्याँचा जस्तो बन्दै गइरहेको उल्लेख गरे।
उनले प्रहरी र कर्मचारी नहुँदा प्रदेश सरकार नाम मात्रको सरकार बनेको बताए। मन्त्री श्रेष्ठले गठबन्धन सरकारको न्यूनतम साझा नीति, कार्यक्रममा बढीमा ६ महिना भित्र प्रहरी समायोजन गरिसक्ने प्रतिबद्धता भएको उल्लेख गर्दै ६ महिना बितिसक्दा पनि प्रहरी समायोजन हुन नसकेको बताए।
मन्त्री श्रेष्ठले संघीयता अनुरुपको ऐन, कानुनहरु निर्माण हुन नसक्दा गणतन्त्र मासेर राजतन्त्र पुनर्थापना गर्ने र संघीयता मासेर एकात्मक केन्द्रीकृत राज्य व्यवस्था फर्काउने अभिव्यक्तिहरु आउन थालेका बताए।
उनले धर्मनिरपेक्षताको ठाउँमा पुनः हिन्दु राज्य बनाउने हुँकार पनि आउन थालेको उल्लेख गरे। मन्त्री श्रेष्ठले सरकारको काम-कारबाहीले प्रतिगामीहरूलाई मलजल पुगिरहेको हुनसक्ने भन्दै त्यसप्रति सचेत हुनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।