काठमाण्डौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले मूलधारका राजनीतिक दलहरूको इतिहास बिर्सिएर अवमूल्यन गर्न खोजिएको बताएका छन्। १ सय ५४ औं गान्धी जयन्ती तथा विश्व शान्ति दिवसका अवसरमा महेन्द्रनारायण निधि प्रतिष्ठानले सोमबार राजधानीमा गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।
मूलधारका राजनीतिक दलले इतिहासका विभिन्न कालखण्डमा राजनीतिक र सामाजिक परिवर्तनमा खेलेको भूमिकालाई अवमूल्यन गर्ने प्रवृत्ति हाबी हुन खोजेको उनको भनाइ थियो। पुनले नेपाली इतिहास बिर्सिएर केही शक्ति र मानिसहरूले दलहरूप्रति समाजमा गलत भाष्य निर्माण गर्न खोजेको बताए। राजनीतिक दल र नेताहरूप्रति उठेका प्रश्नको सबैले जवाफ दिर्नैपर्ने भए पनि कतिपय प्रश्न नियोजित रहेको आरोप उनले लगाए।
‘मुख्य रानजीतिक शक्तिहरुका बारेमा प्रश्नहरु छन्। ती प्रश्नको एक-एक जवाफ दिनुपर्छ। पुराना दल असान्दर्भिक भए, विकल्प खोज्नुपर्छ भन्ने भाष्य निर्माण गर्न खोजिएको छ,’ पुनले भने, ‘कतिपय नियोजित प्रश्न छन्। इतिहास र आजको यथार्थता बिर्सिएर मूलधारका रानजीतिक दलप्रति अनावश्यक लाञ्छना लगाइएका छन्।’
पञ्चायतको समयभन्दा ०४६ र ०६३ पछिका विकासमा तथ्यांकले नै देशमा सडक सञ्जालको निर्माण, विद्युतीकरण, भौतिक पूर्वाधारको विकास, साक्षरता र उच्च शिक्षाको दर हेर्दा नेपाल तीव्र विकासको चरणमा रहेको दाबी उनले गरे। यद्यपि आजको विश्वको तुलनामा केही अपर्याप्ता रहेको स्वीकार उनले गरे। पुनले नेपालमा ००७ सालमा काँग्रेस, ०२८ सालमा एमाले र ०५२ मा आफ्नो पार्टीले संघर्षको बाध्यात्मक विधिका रुपमा हिंसाको प्रयोग गरेको भए पनि नेपाली समाजको मूल चरित्र शान्तिपूर्ण, अहिंसात्मक र मेलमिलाप रहेको चर्चा गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।