काठमाडौं- शहरी विकासमन्त्री सीता गुरुङले निर्माणाधीन संघीय संसद् भवनको ठेक्का अवधि थप गर्न नसकिने बताएकी छन्। मन्त्री गुरुङले कार्य प्रगति सन्तोषजनक नभएको उल्लेख गर्दै हचुवाको भरमा सरकारले सो भवनको ठेक्का सम्झौता अवधि थप गर्न नसकिने बताइन्।
सोमबार संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समिति नेतृत्वको टोलीसँग सो भवनको अनुगमन गर्न पुगेकी उनले सञ्चारकर्मीमाझ असोज महिनाभित्र सम्पन्न गरिसक्ने शर्तमा पछिल्लो समय आफूले ६ महिना म्याद थप गरिदिएको उनको भनाइ छ। तर काम सोही अनुसार नभएको भन्दै असन्तुष्टि व्यक्त गरिन्।
मन्त्री गुरुङले आफूहरुले हिउँदे अधिवेशन सोही भवनबाटै सुरु गर्नेगरी सम्बन्धित निकायलाई निर्माण कार्य सम्पन्न गर्न पटकपटक ताकेता गरेको पनि बताइन्। म्याद थप गरेर समस्या समाधान नहुने भएकाले सम्बन्धित पक्षले असोज महिनाभित्र सो भवनको निर्माण कार्य सम्पन्न गर्नुपर्ने उनको भनाइ थियो।
मन्त्री गुरुङले सो भवनको निर्माण कार्य छिट्टै सम्पन्न हुनेगरी जनशक्ति बढाउन गरिएको आग्रहलाई पनि निर्माण कम्पनीले पालना नगरेको गुनासो गरिन्।
यता, संसद् भवनको निर्माणको जिम्मेवारी लिएको निर्माण कम्पनी टुन्दी/सेक जेभीले भने ठेक्का अवधि पुनः ६ महिना थप गर्न सरकारसँग आग्रह गरेको छ। ६ महिनाभित्र सबै काम सम्पन्न गर्नका लागि सरकारसँग म्याद थपको प्रस्ताव राखिएको सो निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर प्रमिन्द्रकृष्ण श्रेष्ठले बताए।
उनले सो भवनको निर्माण कार्यलाई छिटो सम्पन्न गर्नका लागि आफूहरुले आवश्यक्ता अनुसार जनशक्ति पनि बढाउँदै लगेको र राति पनि काम गर्ने योजना तय गरिएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।