काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वभौम संसद् र सरकारले निर्णय गरेको एमसीसी परियोजना कार्यान्वयमा शंका नगर्न आग्रह गरेका छन्।
नेपाल भ्रमणमा रहेकी एमसीसी परियोजनाकी एक्जुकेटिभ डाइरेक्टर एलेक्स अलवाइड र नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनसँगको भेटमा मन्त्री ज्वालाले परियोजना कार्यान्वयनमा शंका नगर्न आग्रह गरेका हुन्।
‘नेपाल सरकार र सार्वभौम संसद्ले एमसीसी परियोजना पास गरिसकेको छ, परियोजनाको सफल कार्यान्वयनमा नेपाल सरकारले कुनै कमी गर्नेछैन,’ अमेरिकि पक्षसँग मन्त्री ज्वालाले भने, ‘परियोजनामा केही समस्या छन् तर ठीक समयमा सुरु गरेर ठीक समयमा निर्माण सकेपछि अहिले उब्जिएका कतिपय समस्याहरु आफैं हल भएर जानेछन्।’
एमसीसी एक्जुकेटिभ डाइरेक्टर एलेक्स अलवाइडले एमसीसी परियोजना कार्यान्वयन भए आफू र आफ्नो देश पनि खुसी हुने बताइन्। ‘एमसीसी परियोजना कार्यान्वयनको चरणमा म नेपाल आएकी छु, नेपाल सरकारको सकारात्मक धारणाले म खुसी पनि छु,’ उनले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।