काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा संशोधन प्रस्ताव राख्ने भएको छ। सोमबार रास्वपा सभापति रवि लामिछानेको सहितका सांसदहरुबीच भएको छलफलपछि शिक्षा विधेयकमा संशोधन प्रस्ताव राख्ने निर्णय गरेको हो।
बैठकपछि रास्वपाले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत भनेको छ, ‘हालै संसद्मा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० का प्रावधानहरुका सम्बन्धमा आज दफावर छलफल गरियो। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय शिक्षा विभाग तथा विधेयक मन्थन विभागद्वारा केन्द्रीय कार्यालयमा आयोजित उक्त छलफलमा पार्टी सभापति रवि लामिछाने, शिक्षा विभागका प्रमुख सुमना श्रेष्ठ, विधेयक मन्थन विभागका प्रमुख गणेश कार्की तथा पार्टीका केन्द्रीय सदस्य र सांसदहरुको सक्रिय सहभागिता रहेको थियो। सदनमा उक्त विधेयकमाथि संशोधन प्रस्ताव राख्ने समेत तयारी रहेको छ।’
विद्यालय शिक्षा विधेयक आइतबार मात्रै प्रतिनिधि सभामा पेस गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।