काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले जुनसुकै घटनाको छानबिन भए पनि अन्तिममा सत्ता गठबन्धनका नेताहरू नै जेल जाने बताएका छन्।
सोमबार एमालेको गण्डकी प्रदेश अधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले भने, 'एयरपोर्टमा जतिबेला सुन समातिन्छ, सत्ता पक्षका नेताहरूका अनुहार उदांगिने गर्छ। कहिलेकाहीँ उनीहरू भन्ने गर्छन्, अमुक घटनाका सन्दर्भमा हामी छानबिन गर्छौं भनेर प्रतिपक्षतर्फ इशारा गर्ने गर्छन्। जुनसुकै घटनाका बारेमा छानबिन गर, हामी तयार छौँ। तर हामी एउटै कुरा भन्छौँ, हरेक घटनालाई छानबिन गर, अन्त्यमा सत्ताको नेतृत्व गरेका गठबन्धनका नेताहरू नै जेल जानेछन्। नेकपा एमाले होइन।'
पोखरेलले नेकपा एमाले सधैं भ्रष्टाचारको विरुद्धमा र सुशासनको पक्षमा रहेको दाबी गरे। सत्ता गठबन्धनका नेताहरू भ्रष्टताका हिमायती भएको उनको आरोप छ। 'भ्रष्टता उनीहरूको शासकीय चरित्र हो भन्ने कुरालाई तपाईं हामी सबैले बुझ्न जरुरी छ', उनले भने।
पोखरेलले गठबन्धनको सरकार जनताको सरकार नभएको तर्क गरे। 'दलाल नोकरशाहको सरकार हो। अवैध अर्थतन्त्रलाई प्रोत्साहित गर्ने सरकार हो। यो वैधानिकताको नेतृत्व गर्ने सरकार होइन भन्ने कुरा उसका काम र क्रियाकलापले पुष्टि गरेको छ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।