काठमाडौं- नेकपा एमालेका सचेतक महेश बर्तौलाले परीक्षामा अनुत्तीर्ण व्यक्तिलाई जिल्ला न्यायाधीश नियुक्ति गरेर न्यायालयप्रतिको विश्वासमाथि कुठाराघात गरिएको बताएका छन्।
सोमबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सचेतक बर्तौलाले न्याय सेवा आयोगले लिएको परीक्षा अनुत्तीर्ण भएकालाई जिल्ला न्यायाधीश नियुक्त गरिएको भन्दै आपत्ति जनाएका हुन्।
उनले परीक्षामा अनुत्तीर्ण भएको न्यायाधीशबाट कस्तो न्यायको अनुभूति गर्ने भनी प्रश्न समेत गरे। उनले न्यायाधीश नियुक्तिले न्यायालयप्रतिको मानिसको भरोसा र विश्वासमाथि कुठाराघात भएको बताए। न्यायाधीश नियुक्तिको यथार्थताको सम्बन्धमा न्याय परिषद् र न्याय सेवा आयोगले समितिसमक्ष स्पष्ट पार्नुपर्ने माग पनि उनले गरे।
त्यस्तै सचेतक बर्तौलाले नेपालगञ्जका चेतन मानन्धरलाई २०७२ असार २८ गते दिउँसै खुडा प्रहार गरी हत्या गरेर आजीवन काराबासको सजाय भोगिरहेको रिगल डन भनिने योगराज ढकाललाई सरकारले कैद मिनाहा गरेकोप्रति पनि आपत्ति जनाएका थिए। उनले सरकारको निर्णयलाई राष्ट्रपतिले लाल मोहर लगाएको भन्दै संविधान र कानुनले दिएको अधिकार गृहमन्त्रीले दुरुपयोग गरेको बताए।
सरकारको यस कदमले व्यवस्था, संविधान र कानुनमाथि नै प्रश्न सिर्जना गरेको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।