काठमाडौं– नेकपा एमालेका कार्यकर्ताहरूले एमालेको कर्णाली प्रदेश अधिवेशन भइरहेको वीरेन्द्रनगर सिटी हल तोडफोड गरेका छन्।
सोमबार दिउँसो मतगणना सुरू भएलगत्तै एमाले कर्णाली प्रदेश निर्वाचन कमिटी सदस्य रहेका अनेरास्वयुका नेता सत्य शाहीमाथि प्रहरीले कुटपिट गरेको भन्दै अनेरास्ववियुका कार्यकर्ताहरूले सिटी हलमा तोडफोड गरेका हुन्। निर्वाचन कमिटीका सदस्य शाही र प्रदेशका एक नेताबीच आइतबार विवाद भएको थियो। त्यसपछि शाहीलाई कारबाही गरी अधिवेशनको निर्वाचन कमिटीबाट हटाइएको थियो।
सोमबार दिउँसो मतगणना सुरु हुन लाग्दा शाही निर्वाचनको कार्डसहित मतगणना स्थलमा पुगेका थिए।
‘आइतबार प्रहरी इन्स्पेक्टरसँग निर्वाचनको क्रममा सामान्य भनाभन भएको थियो। म निर्वाचन अधिकृतको कार्ड झुन्डाएर मतगणना जाँदै थिए। प्रहरी इन्स्पेक्टरले हलभित्रको अर्को कोठामा लगेर ममाथि कुटपिट गरे,’ शाहीले नेपाल लाइभलाई भने, ‘ममाथि कुटपिट भएपछि अनेरास्ववियुका साथीहरूले हल तोडफोड गरेका हुन्।’
शाही अहिले अस्पताल भर्ना भएका छन्। उनी अनेरास्वियु केन्द्रीय निर्वाचन कमिटीका अध्यक्ष समेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।