काठमाडौं- नेकपा एकीकृत समाजवादीका 'सम्मानित नेता' झलनाथ खनालले अहिलेको निर्वाचन प्रणालीलाई थोत्रो पुँजीवादी निर्वाचन प्रणाली भएको बताएका छन्। पार्टीले आयोजना गरेको 'समाजवादी जागरण अभियान'का क्रममा सोमबार इटहरिमा सम्बोधन गर्दै उनले संविधान बनाउँदा हामीले त्यसलाई बहन गर्न बाध्य भए तापनि त्यसलाई सधैं समर्थन गर्न नसक्ने बताए।
'अहिलेको निर्वाचन प्रणालीले पुँजीपति, पुँजीका धोक्रा भएकाहरूलाई मात्रै चुनावमा जित्ने स्थिति बनाउँछ। जसको सत्तामा प्रभाव छ, जसले विभिन्न खालका षडयन्त्र गर्न सक्छ। त्यस्तालाई चुनाव जित्ने आधार दिन्छ निर्वाचन प्रणालीले। तर यो निर्वाचन प्रणालीलाई हामी सधैं समर्थन गर्न सक्दैनौँ। यसलाई उपयोग गर्दै आइरहेका छौँ। तर यसलाई बदल्नुपर्ने आवश्यकता छ। फेर्नुपर्ने आवश्यकता छ। परिष्कृत गर्नुपर्ने आवश्यकता छ', उनले भने।
सम्बोधनको अधिकांश समय पुँजीवादलाई कटाक्ष गर्न खर्चिएका खनालले भ्रष्टाचार नगरी पुँजीवाद एक सेकेन्ड पनि बाँच्न नसक्ने दाबी गरे। 'पुँजीवाद भनेको भ्रष्ट व्यवस्था हो। पुँजीपति वर्गले हाम्रा श्रमिकहरूको शोषण नगरीकन एक सेकेन्ड पनि बाँच्न सक्दैन। त्यसैले पुँजीवाद भनेको शोषणको व्यवस्था हो। पुँजीवाद भनेको श्रमिकहरूको रगत पसिना खाने व्यवस्था हो। त्यसैले पुँजीवादबाट हाम्रो देशको अग्रगति सम्भव छैन', उनले भने।
खनालले आफूहरू पुँजीवादी शोषण र अन्यायको व्यवस्थालाई अन्त्य गर्दै समाजवादको दिशामा अगाडि बढ्न चाहेको बताए। 'हामीले भ्रष्टाचारलाई अन्त्य गर्ने हो भने भ्रष्टाचार गर्नै नपर्ने, मनै नलाग्ने व्यवस्था ल्याउन सक्नुपर्छ', उनको भनाइ छ, 'त्यो व्यवस्था भनेको समाजवादी व्यवस्था मात्रै हो।'
खनालले पुँजीवादी व्यवस्थाभित्र शोषणको अन्त्य नहुने बताए। जसरी पनि मुनाफा कमाऊ भन्ने नै पुँजीवादको कुरा भएको उनले बताए। 'पुँजीवादले तस्कर र अनेक प्रकारका कालाबजारी पाल्छ', उनले भने, 'पुँजीवादको विकृतिबाट मुक्ति पाउने एउटै मात्र बाटो समाजवाद हो।'
खनालले समाजवादी व्यवस्थाको वकालत गरेका थिए। 'समाजवाद भनेको शोषणलाई समाप्त पार्ने व्यवस्था हो। समाजवादमा मान्छेले मान्छेलाई शोषण गर्न पाउँदैन। समाजवादमा एक वर्गले अर्को वर्गलाई शोषण गर्न पाउँदैन। शोषणलाई समाप्त गर्ने व्यवस्थाको नाम हो, समाजवाद। त्यसैले हामी त्यो आदर्श बाटोतर्फ अगाडि बढ्न चाहन्छौँ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।