काठमाडौं– अर्थमन्त्री प्रकाशशरण महतले सेयर बजारलाई स्वस्थकर बनाउन जरुरी रहेको बताएका छन्। सोमबार ललितिपुरमा आयोजित विश्व लगानीकर्ता सप्ताह २०२३ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
मन्त्री महतले लगानीकर्ताको लगानी सुरक्षित गर्नुपर्ने कुरा सबैभन्दा चुनौतीपूर्ण र जरुरी रहेको बताए। अहिले सेयर बजार तल झर्नुमा रेगुलेसन र माइक्रो म्यानेजमेन्टाका केही समस्याहरु रहेको बताए। उनले बिस्तारै सेयर बजार बढ्दै जाने दाबी गरे।
उनले सेयर बजारमा रहेको समस्या समाधानका लागि चाँडै नै समाधानका उपाय खोज्ने बताए। मन्त्री महतले साना बचतकर्ताहरुको लगानी सुरक्षित गरेर जानुपर्ने आवश्यकता रहेको बताए।
अर्थमन्त्री महतले भने, ‘यद्यपि अहिले सेयर मार्केट तल झरेको छ। त्यसको अलिकति विविध कारण छन्। रेगुलेसनका, केही माइक्रो म्यानेजमेन्टका कुराहरुले पनि समस्याहरु आएको छ। यसको बिस्तारै समाधान हुँदै जान्छ, र समाधान हुनुपर्छ। त्यसमा केही निर्णयहरु चाँडै आउलान् भन्ने पनि मैले विश्वास लिएको छु। तथापि जे भए पनि यो सेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी छ। त्यसको बेनिफिट आम लगानीकर्ता जो सानासाना बचतकर्ताहरु छन् र यो मार्फत्बाट केही हुन्छ कि? भनेर लगानी गर्न अग्रसर हुन्छन्। उहाँहरुको लगानी सुरक्षित गर्न जरुरी छ। सबैभन्दा चिन्ताको विषय त्यो हो। यसमा कतिपय बेलामा इन्साइडर ट्रेडिङका कुराहरु आउने, सूचना लिक हुने, जुन प्रवृत्तिहरु पनि देखिएको छ। यसलाई निर्णायक हिसाबले दायरामा ल्याउनुपर्छ। आम लगानीकर्तालाई मध्यनजर राखेर गर्नुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।