काठमाडौं– महिला कर्मचारीमाथि यौन हिंसा गरेको प्रकरणमा अनुसन्धानको दायरमा रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले राजीनामा दिएका छन्। प्रहरी प्रधान कार्यालयले अनुसन्धान सकेर कारबाही प्रक्रिया अगाडि बढाएपछि पालले राजीनामा दिएका हुन्।
पालले १ जना महिला प्रहरी (सहायक हवल्दार)माथि यौन हिंसा गरेको घटना बाहिरिएको थियो। उक्त प्रकरणको अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) सुरेन्द्र मैनाली नेतृत्वको छानबिन समिति गठन गरिएको थियो।
समितिले एसएसपी पालले यौनहिंसा गरेको निष्कर्ष निकाल्दै प्रतिवेदन पेस गरेको थियो। समितिको प्रतिवेदनपछि प्रहरी प्रधान कार्यालयले पाललाई स्पष्टीकरण सोधेको थियो।
आफू बर्खास्त समेत हुनसक्ने देखिएपछि पालले राजीनामा दिएका हुन्। प्रहरी प्रवक्ता, डीआईजी कुवेर कडायतले पालले राजीनामा दिएको जानकारी दिएका छन्।
सुदूरपश्चिमको महेन्द्रनगरस्थित प्रहरी कार्यालयमा कार्यरत एसएसपी पालले बिदा मागेकी एक महिला सहायक हवल्दारलाई यौन दुर्व्यवहार गरेको घटना बाहिरिएको थियो।
घटना गत जेठ १९ गतेको हो। महिला सहायक हवल्दार घर बिदा स्वीकृत गराएर बिदामा जान लागेकी थिइन्। बिदा स्वीकृत गरेर कार्यालय प्रमुख रहेका एसएसपी पाललाई जानकारी गराइएको थियो।
त्यसपछि एसएसपी पालले सञ्चार सेटमै ती महिला हवल्दारलाई आफूलाई भेट्न पठाइदिनू भन्दै आदेश दिएका थिए। त्यसपछि ती महिला एसएसपी बसेको क्वार्टरमा पुगेकी थिइन्। क्वार्टरमा एसएसपीले महिला हवल्दारलाई भनेका थिए, ‘तिमी मलाई मन पर्यो, आज गुड फ्राइडे मनाऔं।’
एसएसपीले यस्तो प्रस्ताव गरेपछि चकित बनेकी ती महिलाले प्रतिवाद गर्दै घटनाबारे ड्यूटी अफिसरलाई जानकारी गराएकी थिइन्। पछि उनले प्रदेश प्रहरी कार्यालयमा उजुरी हालेपछि घटना बाहिर आएको थियो।
महिला सहायक हवल्दारको उजुरीपछि प्रदेश प्रहरी कार्यालय धनगढीले एसपी श्यामसिंह चौधरीको नेतृत्वमा समिति गठन गरेर छानबिन प्रक्रिया अघि बढाएको थियो। प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धानका विभागका डीआईजी सुरेन्द्र मैनालीको नेतृत्वमा समिति बनाएर छानबिन प्रक्रिया अघि बढाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।