काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवादमा सरकारको आलोचना गरेका छन् । उनले विवादास्पद नियुक्ति सच्याउनुको सट्टा सरकारलाई प्रश्न गर्ने नागरिकलाई मध्यरातमा पक्राउ गरेर तर्साउन खोजिएको आरोप लगाएका छन् ।
पौडेलले सामाजिक सञ्जालमार्फत सरकारको यस्तो रवैयाको समर्थन गर्न नसकिने बताएका हुन् । उनले पक्राउ गरिएका नागरिकलाई पछि छाडिएको घटनाप्रति पनि आपत्ति जनाएका छन् ।
‘लुम्बिनी विकास कोषजस्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वको संस्थाको उपाध्यक्षमा भएको विवादास्पद नियुक्ति सच्याउनुको सट्टा सरकारलाई झकझक्याउने नागरिकलाई पो धरपकड! त्यो पनि मध्यरातमै!’ पौडेलले भनेका छन् ।
उनले लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभई नेपालको अन्तर्राष्ट्रिय पहिचान, धार्मिक आस्था र सांस्कृतिक गौरवसँग जोडिएको सम्पदा भएको उल्लेख गरेका छन् । यस्तो महत्त्वपूर्ण संस्थाको नेतृत्व चयन गर्दा लोकप्रियता मात्रै नभई योग्यता, संस्थागत क्षमता, सार्वजनिक विश्वसनीयता, नैतिक चरित्र र जवाफदेहितालाई समेत आधार बनाउनुपर्ने उनको भनाइ छ ।
पौडेलले लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त भएकी आनी छोइङ डोल्माको नागरिकता र आर्थिक कारोबारबारे सार्वजनिक रूपमा प्रश्न उठिरहेको भन्दै सरकारले ती प्रश्नको जवाफ दिनुपर्ने बताएका छन् । उनका अनुसार प्रश्नको जवाफ नदिई सरकारले नियुक्तिको औचित्य र छनोटका आधार पुष्टि गर्न सक्दैन ।
‘सरकारलाई मेरो विरोध होइन, सुझाव छ। राति–राति जाग्ने यस्तो अहंकारलाई शासन भनिँदैन, सनक भनिन्छ,’ पौडेलले भनेका छन्, ‘गलत निर्णय भएको छ, सच्याउने साहस देखाउनुस्, प्रश्न उठाउनेहरूलाई तर्साउने होइन।’
उनले विवादित नियुक्ति सच्याउन सरकारलाई आग्रह गर्दै आलोचना र प्रश्न गर्ने नागरिकमाथि धरपकड गर्नुको सट्टा सार्वजनिक प्रश्नको जवाफ दिनुपर्नेमा जोड दिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।