काठमाडौं- नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापाकोटाले आउने निर्वाचनमा माओवादी केन्द्रले एक्लै प्रतिस्पर्धा गर्ने दाबी गरेका छन्। आइतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले अहिले आफूहरूलाई जनताले तिखो नजरले हेर्न थालेको बताए।
'केही समयअगाडि उदासिनता जस्तो, आश कम भएको जस्तो हुन्थ्यो। अहिले आशा पनि बढेको छ। र तीखा नजरले हेर्न थालेका छन्', सापकोटाले भने, 'त्यसकारण म पूरै विश्वासका साथ के भन्न सक्छु भने, पहिले समानुपातिकमा हाम्रो बाह्र लाख भोट थियो। त्यो कम भएको हामीलाई गहिरो गरी महसुस भएको छ। दोब्बरभन्दा बढी बनाउन सकिन्छ भन्ने विश्वास जागेको छ। दृढताका साथ भन्न चाहन्छु, अब आउने निर्वाचनमा हामी एक्लै प्रतिस्पर्धा गर्नेछौँ।'
उनले जनताले आफूहरूलाई माओवादीको पहिचान के हो, माओवादीको भिन्न भन्ने कुरा के हो? भन्ने प्रश्न गरिरहेको भन्दै उनले अब पार्टीको विचार, राजनीतिक कार्यदिशा, दृष्टिकोण, नीति, योजना, कार्यक्रम छुट्टै प्रस्तुत गर्दै अगाडि जाने बताए। त्यसका लागि विधान सम्मेलन गरेर विधि प्रक्रियाको मापदण्ड, त्यसको पद्धति र प्रक्रियाको सुनिश्चितता गर्ने बताए।
विधान सम्मेलन अगाडि बढेपछि स्वाभाविक रुपमा विचारको पनि बहस हुने बताए। तर विधान सम्मेलन भएको हुनाले विधानमै बढी केन्द्रित हुने बताए। थपे, 'त्यो विधान सम्मेलन सम्पन्न गरिसकेपछि फेरि विशेष महाधिवेशन गर्छौं। त्यसपछि बहसलाई महान बहसमा अगाडि बढाउँछौँ।'
सापकोटाले जनतासँग माओवादी अभियानको समापन गर्दै गर्दा विधान सम्मेलन गरिने बताए। विधान सम्मेलन सम्पन्न गरिसकेपछि निश्चित अवधिपछि विशेष महाधिवेशन गरिने उनको भनाइ छ। त्यसले पार्टीको सुस्पष्ट विचार, राजनीतिक, कार्यदिशा, दृष्टिकोण, विधि, प्रक्रिया स्पष्ट गर्ने उनको भनाइ छ। 'जसरी हाम्रै अजेन्डामा देश घुमिरहेको छ। अगाडि बढिरहेको छ। तर त्यो संगठनमा अभिव्यक्त भएको छैन। त्यो संगठनमा अभिव्यक्त हुने र पहिलो पार्टी हुने एउटा संकल्पका साथ हामी अगाडि बढिरहेका छौँ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।