काठमाडौं- साहित्यकार नारायण ढकालको नवीन निबन्धसंग्रह ‘अन्तिम पात’ पाठकमाझ आएको छ। यो उनको उन्नाइसौं किताब हो। ‘यात्रा’, ‘पठन’ र ‘पूर्वपीठिका’ गरी तीन खण्डमा विभक्त निबन्धसंग्रहमा ढकालका विसं २०५७ देखि २०७९ सालसम्मका निबन्ध समेटिएका छन्।
‘२२ वर्षभित्र लेखिएका २२ वटै निबन्ध यस संग्रहमा परेका छन्,’ साहित्यकार ढकालले भने। पत्रपत्रिकामा पूर्वप्रकाशित र केही नयाँ निबन्ध संगृहित ‘अन्तिम पात’ले आफ्नो निबन्ध लेखनको ‘ट्राजेक्टरी’लाई नक्सांकन गरेको निबन्धकार ढकालले बताए।
बेला पब्लिकेसन्सद्वारा प्रकाशित यस संग्रहमा ‘दर्शनशास्त्र चपाइरहेको ढाडेमुसो’, ‘प्रज्ञा : पञ्चायतको जुठो टपरी’, ‘हजुरबाको रेड बुक’, ‘शीताङ्ग सहरमा लङ्गडो घोडा’ लगायत पाठकद्वारा अत्यधिक रूचाइएका निबन्ध पनि सङ्कलित छन्।
आफूलाई ‘काँठको क्लर्क’ भन्ने साहित्यकार ढकालका थुप्रै सिर्जना काँठको परिवेश, मनोविज्ञान र राजनीतिक–सामाजिक आयामले भरिपूर्ण छन्।
उनी २०२८ सालदेखि निरन्तर लेखनमा सक्रिय छन्। उपन्यास, कथा र निबन्धमा उनको तेजस्वी उपस्थिति छ। उनका सात कथासङ्ग्रह— शहरयन्त्र (विसं २०५०), इरफान अली (२०५१), बहिर्गमन (२०६१), आत्महन्ता (२०६२), इन्द्रजाल (२०७१), नारायण ढकालका कथा (२०७३), तमस (२०७६); पाँच उपन्यास— पीत संवाद (२०५५), दुर्भिक्ष (२०६१), प्रेतकल्प (२०६५), वृषभ वध (२०७१), हजार माइलको बाटो (२०७४); तीन निबन्धसङ्ग्रह तीन संवत्सर (२०५२), शोकमग्न यात्री (२०६९), अन्तिम पात (२०८०), दुई बालकथा सङ्ग्रह— मुसेकान्छाको करामत, गोमाको यार्लिङ; कवितासङ्ग्रह नरकको ढोका प्रकाशित छन्। साथै, उनका दुई अनुवाद किताब पनि प्रकाशित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।