फाइल तस्बिर काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरु भेटवार्ताका लागि बालुवाटार पुगेका छन्।
एमाले अध्यक्ष ओलीसहित उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका सचेतक महेश बर्तौला बालुवाटार पुगेका हुन्।
शनिबार मात्रै चीन भ्रमणबाट फर्किएका प्रधभानमन्त्री प्रचण्डले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति (जाँचबुझ आयोग) गठन गर्ने विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दलका नेताहरुलाई बोलाएका हुन्।
गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भइसकेको अवस्थामा ६० किलो बढी तस्करीको सुन बरामद भएपछि एमालेले तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै आएको थियो।
एमालेले उच्चस्तरीय समिति गठनको मागसहित साउन महिनाभरी संसद् बैठक अवरुद्ध पारेपछि सत्ता पक्ष आयोग गठनका लागि सहमत भएको थियो। दलहरुले असोज ६ गते नै आयोग गठन गरेर घोषणा गर्ने भनेर सहमति गरेका थिए। तर आयोगको क्षेत्राधिकार लगायत विषयबारे सहमति जुट्न नसक्दा गठन हुन सकेको छैन।
आइतबार प्रतिनिधि सभा बैठक बस्नु अगाडि सुन तस्करी छानबिनका लागि आयोग गठनका लागि छलफल गर्न प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दलका नेताहरुलाई बोलाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।