काठमाडौं- मानसिक रोग विशेषज्ञ एवं मानसिक अस्पताल पाटनका निर्देशक डा अनन्त अधिकारीद्वारा लिखित कविता संग्रह ‘सर्वाइवल नोट’ शनिबार लोकार्पण गरिएको छ।
नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभा कक्षमा उपस्थित प्राज्ञ, कवि तथा संगीतकारहरुको बीचमा उनको कविता संग्रह लोकार्पण गरिएको हो।
कार्यक्रममा प्राडा अभि सुवेदीलगायत वरिष्ठ साहित्यकार तथा कलाकारहरुले डा अधिकारीको कवितामाथि समालोचना तथा टिप्पणी गरेका थिए।
‘अचेल धेरै सुसाइट नोट लेखिएको खबरहरु सुन्नु परेको छ। तर आज सर्वाइवल नोट पढ्न पाइयो,’ प्राडा सुवेदीले भने, ‘मनोचिकित्सक अधिकारीले लेखेको यो पुस्तकमा समावेश कविताहरुले साच्चिकै मान्छे बचाएको छ र बचाउनेछ।’
यस्तै साहित्यकार डा गीता त्रिपाठीले आम मान्छेका समस्यालाई साहित्यका माध्यमबाट प्रस्तुत गरिएको र निराशामा परेका व्यक्तिलाई आशा जनाउने काममा यी कविता प्रयोग भएको बताइन्।
उनले मनोचिकित्सकले कसरी एउटा हल्लिएका मनलाई सम्हालिदिन्छ? मनहरुलाई कसरी शान्त बनाउँछ भन्ने बारेमा बढो गहिरोसँग भावना व्यक्त गरिएको बताइन्।
काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार अच्युत वाग्ले, कलाकार मनोज गजुरेल, साहित्यकर्मी रमेश पौडेल लगायतले कविताका बारेमा टिप्पणी गरेका थिए।
कवि एवं लेखक डा अधिकारीले कवितामा आफ्ना भोगाइ, अनुभव, उपचार र त्यसपछिका जीवनका बारेमा आफ्ना प्रस्तुति रहेको बताए। ‘म मनोचिकित्साको विद्यार्थी, धेरै विच्छिप्त मनहरु मैले बुझेको छु, देखेको छु, सोही क्रममा म भित्रको कवि मन पनि जागृत भयो र फुटकर रचनाहरुलाई पुस्तकको आकार दिन सफल भएँ,’ उनले भने।
कविता संग्रह आवरण प्रकाशन काठमाडौंले प्रकाशित गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।